कांग्रेसले दिए हारको दोष वाम गठबन्धनलाई



काठमाडौं १७ वैशाख: नेपाली कांग्रेस चुनावमा पराजयको प्रमुख कारण वाम गठबन्धन भएको निष्कर्ष निकालेको । ‘हालै सम्पन्न संघीय संसद् र प्रदेश सभाको निर्वाचनमा हामीले पराजय व्यहोर्नुपरेको छ । एमाले र माओवादी केन्द्रले निर्माण गरेको कम्युनिस्ट गठबन्धनले गर्दा समग्रमा तथा मधेसकेन्द्रित दलहरू, संघीय समाजवादी फोरम र राजपाको गठबन्धनले प्रदेश २ को निर्वाचनमा आशातीत सफलता प्राप्त गर्न सहज थिएन,’ हारबारे कांग्रेसले भनेको छ, ‘कांग्रेसले ०७० सालमा प्राप्त गरेको मत प्रतिशतमा बढोत्तरीका बाबजुद विपक्षी पार्टीहरूको पहिलोपटक भएको उल्लेखित गठबन्धन कांग्रेस हार्नुको मुख्य कारण बन्न पुग्यो ।’ विपक्षी कम्युनिस्ट गठबन्धनले भारतले लगाएको नाकाबन्दीका कारण पीडित नागरिकको मत आफ्नो पक्षमा प्रभावित पार्न सफल भएको कांग्रेस बुझाइ छ ।

हारको जिम्मा केन्द्रीय समितिले लिने

पार्टीको अस्वभाविक पराजयपछि विधानविपरीतका संसदीय समिति, कार्यसम्पादन समिति, सभापतिको कार्यशैली जिम्मेवार भएको भन्दै नैतिक जिम्मेवारी लिन दबाब थियो । तर, निर्णयमा भने हारको प्रमुख कारण एमाले र माओवादी मिलेर निर्वाचन लड्नुलाई मानेको छ । हारको जिम्मा केन्द्रीय समितिले लिने निर्णय पनि गरेको छ ।

बैठकले पार्टीलाई रचनात्मक बनाउन अभियानका कार्यक्रम पनि सार्वजनिक गरेको छ । संघीय संसद् र प्रदेश सभामा सशक्त एवं रचनात्मक प्रतिपक्षको भूमिका खेल्न, एकीकृत वार्षिक कार्यक्रमका आधारमा स्थानीय तहसम्म प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्न, सबै पहिचानका समुदाय, महिला र नयाँ पुस्ताबीच पार्टीलाई थप प्रभावकारी बनाउन, पार्टीका सबै तहको संरचना तथा भ्रातृ र शुभेच्छुक संस्थाका गतिविधिलाई ‘एकीकृत राष्ट्रिय जागरण अभियान’ अन्तर्गत सञ्चालन गर्न आवश्यक कार्ययोजना तथा कार्यक्रम निर्धारण गर्ने कांग्रेसको घोषणा छ । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्