मिलान, १७ वैशाख
एटलेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमिओनीका छोरा जिओभानी सिमिओनीले ह्याट्रिक प्रहार गरेसँगै आइतबर इटालियन लिगको खेलमा नेपोलीलाई फिओरेन्टीनाले ३-० ले हराएको छ ।
शीर्षस्थानको युभेन्टसलाई उपाधिमाथि दबाब दिन खेल जित्नैपर्ने स्थितिमा रहेको नेपोलीको पराजयसँगै उपाधि सम्भावना निकै कम भएको छ । खेलको आठौँ मिनेटमा डिफेन्डर कालिडु कौलिबालीले रातो कार्ड खाएपछि नेपोली दश खेलाडीमा सिमित भएको थियो । खेलको ३४ औं मिनेटमा पहिलो गोल गरेका सिमिओनीले ४३ औं र ६२ औं मिनेटमा गोल गर्दै फिओरेन्टीनाको जित पक्का गरेका थिए ।
२२ वर्षीय सिमिओनीको ह्याट्रिकसँगै फिओरेन्टीनाले पछिल्लो चार खेलमा पहिलो जित पायो । पराजित नेपोली भने यस हारसँगै युभेन्टसभन्दा ४ अंकले पछाडी पारेको छ । तीन खेल बाँकी रहँदा नेपालीले उपाधि जित्न अब युभेन्ट्सले कम्तिमा दुई खेलमा अंक गुमाउनुपर्ने हुन्छ ।
शनिबार इन्टर मिलानविरुद्ध अन्तिम तीन मिनेटमा दुई गोल गर्दै जित हात पारेको युभेन्टसले लगातार लिग उपाधि पक्का गर्ने सम्भावना बलियो भएको छ । -(एजेन्सी)