लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र बन्ने



काठमाडौं १८ वैशाख: लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल बन्ने भएको छ । बुद्धजयन्तीको अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सो सभाहलको शिलान्यास गरेकी छिन् ।

लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एसियाकै नमुना सभाहल बनाउन लागेको हो । ठूलो क्षमताको हल नहुँदा धेरै समस्या भएपछि लुम्बिनी विकास कोषले देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्रसहितको सभाहलको निर्माण कार्य सुरु गरेको हो । केपी ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा लुम्बिनीमा पाँच हजार क्षमताको हल बनाउने घोषणा गरेका थिए । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीको समेत सहभागिता थियो ।

३२ करोड लगानी हुने
लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल निर्माणका लागि झन्डै ३२ करोड खर्च लाग्ने भएको छ । सो हल दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले २२ महिनामा सम्पन्न गर्ने बताएका छन् । सभाहलको निर्माण भएपछि लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन साधना तथा ध्यान गर्न र लुम्बिनीको प्रवद्र्धनमा समेत महŒवपूर्ण भूमिका हुने भनाइ छ । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले भवनको लागत ४१ करोड भए पनि टेन्डर प्रक्रियामा जाँदा ३१ करोडको हारहारीमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको बताए ।

 

लुम्बिनीबारे भ्रम हटाउन कूटनीतिक पहल : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई विश्वकै आकर्षक एवं पवित्र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने बताएका छन् । २५६२औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०७५ लाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीलाई शास्त्रहरूमा वर्णन गरिएभन्दा पनि बढी सुगन्धित, पवित्र बगैँचाका रूपमा विकास गर्ने बताए । उनले लुम्बिनीको विकास गर्न सरकार योजनाबद्ध ढंगले अघि बढेको बताए ।

लुम्बिनीमा धूप र ज्ञानको मात्र होइन हावा र फूलको पनि सुगन्ध हुनुपर्ने उनको भनाइ छ । बुद्धका बाणीहरू जहिले पनि सत्यको पक्षमा रहेको उनले बताए । लुम्बिनीलाई हजारौँ वर्ष पहिले यहीँ जन्मेको सम्राट अशोकले स्थापित गरिसकेका कारण यसबारेमा बहस र विवाद गर्न जरुरी नरहेको तर्क गरे । उनले भ्रम एवं गल्ती भएर विभिन्न देशका पाठ्यपुस्तकमा गलत कुरा उल्लेख भएको भए त्यसलाई हटाउन कूटनीतिक पहल गर्ने बताए ।

यस्तो बन्दै छ भवन
लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल चीनको प्राचीन यिन यान शैलीमा निर्माण गरिने लुम्बिनी विकास कोषले जनाएको छ । ३६ हजार वर्गमिटर क्षेत्रफलमध्ये भवनले मात्रै १० हजार वर्गमिटर ओगट्नेछ । सभाहलको भित्री भागमा कुनै पिल्लर नहुने कोषले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्