काठमाडौं १८ वैशाख: सरकारको ढिलाइ र आन्तरिक विवादले भूकम्पको केन्द्रविन्दु बारपाकस्थित दलित बस्तीको पुनर्निर्माण अन्योलमा परेको समाचार छ । भूकम्पलगत्तै सरकारले साबिक बारपाक गाविस–५ (हाल सुलिकोट गाउँपालिका–१) मा पर्ने डाँडागाउँ र गैरीगाउँको दलित बस्तीमा ‘जीवित संग्रहालय तथा भूकम्प स्मृति पार्क’ बनाउने योजना अघि सारेको थियो ।
सोही योजनाअनुसार बारपाकको मुख्य बस्तीभन्दा केही तल रहेको सरकारी जग्गामा दलित बस्ती सारियो । भूकम्प गएको तीन वर्ष बित्दा न संग्रहालय बन्यो न दलित परिवारले घर बनाउन पाए ।
‘खुला संग्रहालय बनाउने भनेर सरकारले हामीलाई जग्गा छाड्न लगायो । त्यसको सट्टा यहाँ जग्गा दिने भनेर हामीले लालपुर्जाको फोटोकपीसमेत बुझाइसक्यौं,’ सुलिकोट–१ स्थित अस्थायी बस्तीका अविनाश विकले भने, ‘तीन वर्ष बितिसक्यो, अहिलेसम्म न हामीले आफ्नो ठाउँमा घर बनाउन पायौं न यहाँको लालपुर्जा।’
दलित बस्तीमा रहेका ३२ मध्ये २७ परिवार सरकारी जग्गामा अस्थायी टहरा बनाएर बसेका छन् । उनीहरुले सट्टा जग्गा पाउने वा नपाउने अझै टुंगो लागेको छैन । आफूहरु जग्गा पाउने आसमै रहेको पीडित बताउँछन् । यो समाचार आजको नागरिकले छापेको छ ।