काठमाडौंको विकल्पमा काभ्रेमा आन्तरिक विमानस्थल



काठमाडौं १९ वैशाख: सरकारले काभ्रेमा प्रस्तावित आन्तरिक विमानस्थल आयोजनाको कार्यान्वयन प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ । त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान स्थानान्तरण गर्न काभ्रेमा विमानस्थल निर्माणको योजना बनाएको छ । सोही क्रममा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले काभ्रेका सम्भाव्य तीन स्थानको स्थलगत अवलोकन गरेका छन् ।

 

उनका अनुसार सरकारले आगामी आर्थिक वर्षको बजेटमा नै यस कार्यक्रमलाई समावेश गरी कार्यान्वयन थाल्ने तयारी गरिरहेको छ । ‘आजको स्थलगत अध्ययन र विज्ञ समूहले गर्ने प्राविधिक तथा अन्य अध्ययनबाट १५ दिनमा एउटा प्रतिवेदन आउँछ,’ उनले भने, ‘सोही प्रतिवेदनका आधारमा यो आयोजनाको कार्यान्वयन थाल्छौँ ।’
के–के छन् विकल्प ?

नेपाल नागरिक उड्डयन प्राधिकरणले परामर्शदाता कम्पनीमार्फत काभ्रेका दुई विकल्पमा अध्ययन गरेको थियो । सोही आधारमा पर्यटनमन्त्री अधिकारी, सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा, प्राधिकरणका उच्च अधिकारी तथा स्थानीय जनप्रतिनिधिको टोलीले काभ्रेमा प्रस्तावित विभिन्न स्थलको अवलोकन गरेको हो । टोलीले काभे्रको बनेपास्थित नागिडाँडा, धुलिखेलस्थित ठूलीचौर तथा चिसापानी ठूलीचौरको स्थलगत अध्ययन गरेको थियो ।

मन्त्रालयले गठन गरेको विज्ञ समूहले अब कुन स्थानमा विमानस्थल बनाउन उपयुक्त हुन्छ भन्ने सिफारिस गर्नेछ । सो समूहलाई विमानस्थल सञ्चालनको आर्थिक, प्राविधिक तथा वातावरणीय पक्षसमेत समेटेर १५ दिनभित्र प्रतिवेदन दिन आग्रह गरिने मन्त्री अधिकारीले जानकारी दिए ।

स्थानीयको चासो के छ ?
स्थानीय पर्यटन व्यवसायी तथा सरोकारवालाले धुलिखेलको ठूलीचौरमा विमानस्थल बनाउँदा यहाँको शिक्षा, स्वास्थ्य तथा पर्यटकीय गतिविधि प्रभावित हुने भन्दै उपयुक्त नभएको प्रतिक्रिया दिएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नागिडाँडामा भने स्थानीयको गुनासो कम छ ।

कस्तो विमानस्थलको सम्भावना छ काभ्रेमा
प्राधिकरणले परामर्शदाता कम्पनीमार्फत गरेको अध्ययनअनुसार धुलिखेलको ठूलीचौर र नागिडाँडा दुवै स्थानमा अधिकतम ४२ सिट क्षमताका जहाज उडान गर्न सकिन्छ । नागिडाँडामा ३५ हेक्टर जमिन छ । त्यसमध्ये १५ हेक्टर वन क्षेत्र रहेको छ भने ७ हेक्टर निजी जग्गा हो । यहाँ अधिकतम १२ सय मिटर लामो धावनमार्ग बन्न सक्छ भने १६ वटा ट्विनअटर तथा ५ वटा एटिआर ४२ जहाज पार्किङ गर्न सकिन्छ । यस आयोजनाको प्रारम्भिक मूल्य अनुमान साढे ७ अर्ब रुपैयाँ गरिएको छ । उता, ठूलीचौरमा भने अधिकतम ४२ हेक्टर जमिन उपलब्ध छ । यहाँ पनि १२ सय मिटर लामो धावनमार्ग बन्न सक्छ । यस आयोजनाको अनुमानित मूल्य ६ अर्ब रहेको छ ।

काठमाडौंको विमानस्थलबाट अधिक चाप घटाउने उपायस्वरूप सरकारले लामो समयदेखि काभ्रेमा आन्तरिक विमानस्थल बनाउने घोषणा गरे पनि कार्यान्वयन हुन सकेको छैन । प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार पहाडी तथा हिमाली इलाकामा हुने उडान, माउन्टेन फ्लाइट र हेलिकोप्टर उडानलाई काभ्रे स्थानान्तरण गर्न सकिन्छ । सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले समेत काठमाडौंको विकल्प मात्र नभई काभ्रेमा बढेको आर्थिक क्रियाकलापका कारण पनि यहाँ आन्तरिक विमानस्थलको आवश्यकता छ ।

कम मूल्यमा छिटो सक्ने मोडल छान्छौँ : पर्यटनमन्त्री
काठमाडौंको विकल्पका रूपमा आन्तरिक विमानस्थल निर्माणको योजनालाई आगामी वर्षको बजेटमै समावेश गर्ने गरी तयारी सुरु भएको छ । आगामी १५ दिनभित्र यसको स्थान चयन भइसक्छ, त्यसपछि अन्य प्रक्रिया सुरु हुन्छ । हामी कम मूल्यमा छिटो आयोजना सम्पन्न गर्ने गरी मोडालिटी तय गर्नेछौँ । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्