काठमाडौं २० वैशाख: संघीय संसद्को नियमावली समितिमा फौजदारी अभियोगमा पक्राउ परेका सांसद निलम्बन हुने कि नहुने विवाद सर्वदलीय बैठकको एजेन्डा बन्ने भएको छ । सर्वदलीय बैठकबाट पनि सहमति नजुटे समितिको बैठकमा मतदान प्रक्रियामा लगेर टुंग्याउने नियमावलीको समितिको तयारी छ ।
बुधबार बसेको प्रतिनिधिसभा नियमावली समितिको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले अभियोग प्रमाणित नहुँदै निलम्बनको प्रावधान नियमावलीमा राख्न नहुने पुरानै अडान दोहोर्याएको थियो । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसमेत कांग्रेसकै पक्षमा छन् ।
समिति सभापति कृष्णभक्त पोखरेलले मतदान प्रक्रियाबाट भए पनि उक्त विषय टुंग्याउन चाहेका थिए । तर, सभामुख कृष्णबहादुर महराले एकपटक सर्वदलीय बैठकमा छलफल गर्दा उपयुक्त हुने सुझाएपछि बुधबारको बैठकबाट उक्त विषयको टुंगो लाग्न सकेन । सभापति पोखरेलले सर्वदलीय बैठकमा पनि कुनै सहमति नजुटे बिहीबार अपराह्न बस्ने समितिको बैठकले प्रक्रियामा लगेर निकास दिने बताए ।
कांग्रेस भने मतदानको पक्षमा छैन । समिति सदस्य कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले संसदको बैठक सञ्चालनका लागि बनाउन खोजिएको नियमावलीमै मतदान गर्नु उपयुक्त नभएको बताए । ‘कुनै कानुन वा संविधान बनाउन लागेका होइनौं, नियमावली बनाइरहेका छौं । भोटिङ गर्छु भन्नु उपयुक्त होइन,’ उनले भने, ‘तर्कसंगत आधारबाट सहमतिमै निर्णय लिइनु ठीक हुन्छ ।’ राष्ट्रिय सभाको नियमावली समितिमा पनि उक्त विवाद यथावत् छ । यो समाचार आजको कान्तिपुरले छापेको छ ।