सङ्घीय समाजवादी फोरम, नेपाल सात प्रदेशमा



काठमाडौँ, २० वैशाख

सङ्घीय समाजवादी फोरम, नेपालको बुधबारदेखि काठमाडौंमा सुरु छैंठौ केन्द्रीय बैठकमा पार्टीको प्रदेश संरचना नेपालको संविधानमा उल्लेख भए बमोजिम सात प्रदेशको सङ्घीय खाका अनुसार निर्माण गर्ने प्रस्ताव पेश भएको छ ।

बैठकमा साङ्गठनिक प्रतिवदेनमा हाल संविधानले व्यवस्था गरे बमोजिम सात प्रदेशको सङ्घीय संरचना निर्माण गर्ने प्रस्ताव महासचिव रामसहाय प्रसाद यादवले पेश गरेका छन् । समाचार स्रोतलको अनुसार सात प्रदेशलाई कार्यकारी पार्टी निकायका रूपमा विकास गर्ने तयारी भएको छ ।

पहिचानमा आधारित १० र शिल्पी समुदायका लागि देशैभर कायम हुनेगरी एक विशेष प्रदेश गरी ११ प्रदेशको खाकालाई पार्टीले समन्यवकारी प्रदेश समितिका रूपमा कायम गर्ने भनी पार्टी घोषणापत्र प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।

अब जिल्ला समिति पनि निर्वाचन क्षेत्रस्तरीय समिति जस्तै समन्वयकारी इकाईका रूपमा रहने छन् । बिगतमा जिल्ला समितिलाई कार्यकारी मानिएको भए पनि अब त्यो रहने छैन  । स्थानीय तहको नयाँ संरचना अनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका र वडास्तरीय समितिहरुलाई पार्टीको कार्यकारी समितिका रूपमा अघि बढाइने प्रस्ताव गरिएको छ ।

बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टीले अबको संघर्षको बाटो संसदीय अभ्यासलाई बनाउने पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले उल्लेख गरेका छन् । संविधान संशोधनका लागि सत्ता पक्षले लिखित सम्झौता गरेमा सरकारमा सहभागी हुन सकिने उल्लेख छ । प्रतिवेदनमा ‘सदनलाई संघर्षको थलो’का रूपमा विकास गरिने उल्लेख छ ।

बैठाकमा पेश भएको उक्त प्रतिवदेनमाथि आफ्नो विचार राख्दै अधिकांश केन्द्रीय सदस्यहरुले सदन संघर्ष र सरकारमा सहभागी हुने कुरा आफैमा बाझिएको भनी आलोचना गरेका थिए । पहिचानको मुद्दा स्थापित गर्न आन्दोलनको अपरिहार्यता बारे पनि सबैले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्