संघिय समाजवादी फोरम, नेपालको महाधिवेशन माघमा हुने



काठमाडौं, २० वैशाख

संघिय समाजवादी फोरम, नेपालको महाधिवेशन हुने भएको छ । महासचिव यादवबाट बुधबारदेखि काठमाडौंमा सुरु छैंठौ केन्द्रीय बैठकमा प्रस्तुत साङ्गठनिक प्रतिवेदन अनुसार आगामी माघमा पार्टीको केन्दीय महाधिवेशन गर्ने प्रस्ताव पेश भएको छ ।

पार्टीको केन्द्रीय महाधिवेशन माघ २७, २८ र २९ गते गर्ने भनी प्रतिवेदनमा उल्लेख छ । तर पनि  महाधिवेशन स्थलका बारेमा भने प्रतिवेदन महासचिव केही बोलेका छैनन् ।

असोज मसान्तभित्रमा महाधिवेशनको तयारीका लागि पार्टी क्रियाशील सदस्यता वितरण गरिसक्नुपर्ने,  प्रदेश समितिहरुमार्फत कार्तिक १५ भित्रमा क्रियाशील सदस्य विवरण र केन्द्रमा पार्टी सदस्यता शुल्क बुझाइसक्नुपर्ने प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।

त्यस्तै कार्तिक मसान्तभित्रमा पार्टी महाधिवेशनको तयारी अन्तर्गत महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका समितिहरु र मातहतका वडा समितिहरुको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने, सबै भातृ सङ्गठनहरुको केन्द्रीय महाधिवेशन मंसिर मसान्तभित्रमा गरिसक्नुपर्ने र सात वटै प्रदेशहरुको अधिवेशन गरिसक्नुपर्ने प्रस्ताव गरिएको छ ।

नेपाल पत्रकार महासंघको प्रदेश अधिवेशनमा नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र निकट पत्रकार संगठनहरु प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरले सिण्डिकेट कायम गरेको विरुद्धमा सङ्घीय प्रेस फोरमलगायत सङ्गठनहरुले उम्मेद्वारी दिएको बारे प्रतिवेदनमा चर्चा गरिएको छ । जारी बैठकमा केन्द्रीय सदस्यहरुले बिहीबारदेखि  सांगठनिक प्रतिवेदनमाथि धारणा राख्ने कार्यक्रम रहेको छ ।

बैठाकमा कार्य सम्पादन समितिको तर्फबाट बिहीबार नै थप प्रस्तावहरु पेश हुने समाचार स्रोतले जनाएको छ । पार्टी समायोजन र पार्टी प्रदेशमार्फत आएका,  पार्टीमा क्रियाशील रहेका नेताहरुको पद निर्धारण गर्ने र बढुवा गर्ने लगायतका केही महत्वपुर्ण प्रस्ताव समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्