काठमाडौँ, २० वैशाख
आदिवासी जनजाति महासंघसँग आबद्ध प्रतिनिधिले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सरकारले हटाएका पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन माग गरेका छन् ।
आज बिहान अध्यक्ष दाहालको निवास खुमलटारमा भेट गर्दै उनीहरुले सांस्कृतिक पर्वहरुमा पाउँदै आएको बिदा कटौती भएको भन्दै पुनरावलोकनको माग गरेका हुन् ।
धेरै बिदा भएको भन्ने चर्चा भइरहँदा सरकारले बिदा घटाउने प्रयास गरेको हुनसक्ने बताउदै अध्यक्ष दाहालले सम्बद्ध समुदायसँग छलफल गरेर बिदा कटौती गर्न सकिएको भए राम्रो हुने भन्दै पुनरावलोकनका लागि पहल गर्ने बताउनु भएको थियो । त्यतिबेला सरकारले सम्बन्धित समुदायसँग छलफल नगर्दा समस्या भएको बताउनुभएको छ ।
तत्कालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर बिदाका बारेमा टुंगो लगाउने अध्यक्ष दाहालले बताउनुभएको छ । ।
आदिवासी जनजातिका मुद्दा माओवादी आन्दोलनसँग पनि जोडिएको विषय भएको भन्दै यसमा आफ्नो सकारात्मक सहयोग हुने विश्वास अध्यक्ष दाहालले दिलाउनुभएको भेटमा सहभागी आदिवासी जनजाति नेता परशुराम तामाङले जानकारी दिए ।
पर्व बिदा आदिवासी जनजातिको आन्दोलनको उपलब्धि भएको भन्दै सरकारले कुनै सरसल्लाह बिना नै बिदा कटौती गरेको गुनासो भेटमा सहभागी आदिवासी जनजातिका प्रतिनिधिले गरेका थिए ।