‘विश्व फुटबलका नयाँ मेस्सी लिभरपुलका सलाह’



लन्डन, २० वैशाख

जारी सिजन उत्कृष्ट फर्ममा लिभरपुलका फरवार्ड मोहमद सलाह छन् । लिभरपुलका लागि सबै प्रतियोगितामा ४३ गोल गरिसकेका सलाहले टोलीलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका छन् । भर्खरै ला लिगा उपाधि पक्का गरेका बार्सिलोनाका लिओनेल मेस्सीले पनि सलाहझैं ४३ गोल गरेका छन् ।

गएराती रोमाविरुद्ध ४-२ को हारमा सलाहले लिभरपुलका लागि गोल गर्न सकेनन् । तर उनको प्रदर्शन भने हेर्नलायक थियो । समग्रमा ७-६ को जित दर्ता गर्दै लिभरपुलले उपाधि भिडन्तमा रियल म्याड्रिडको सामना गर्ने पक्का गर्यो । बार्सिलोनाका पूर्व खेलाडी प्याट्रिक क्लाइभर्टले सलाह विश्व फुटबल जगतका नयाँ मेस्सी भएको प्रतिक्रिया दिएका छन् । बार्सिलोनाका लागि १ सय भन्दा बढी गोल गरेका क्लाइभर्टले ट्वीटरमा यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले लेखेका छन्, ‘हामी सबैले मान्नुपर्छ कि सलाह नयाँ मेस्सी हुन् । अब उनले अहिलेको फर्मलाई प्रत्यक सिजन निरन्तरता दिनुपर्छ । उनले अहिले जे देखाईरहेका छन् त्यो नै फुटबलको सुन्दरता हो । अब हामी उनले मैदानमा के कस्तो प्रदर्शन गर्छन् हेरौं ।’

गत सिजन एएस रोमाबाट लिभरपुल आएका सलाहले क्लबका लागि उल्लेख्य प्रदर्शन गरिरहेका छन् । प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता रहेका सलाहले ३१ गोल गरेका छन् । उनलाई टोटेनहमका ह्यारी केनले ४ गोल कम गर्दै पछ्याईरहेका छन् । सलाहले यस सिजनको पीएफए प्लेयर अफ द इयर अवार्ड र प्रतिष्ठित एफडब्लुए फुटबलर अफ द इयरको अवार्ड पनि हात पारिसकेका छन् ।

लिगमा ३२ गोल गरेका लिओनेल मेस्सी युरोपको सर्वाधिक गोलकर्ता बन्ने होडमा सलाहसँग प्रतिस्पर्धामा छन् । सँगसँगै यस वर्षको ब्यालोन डी’ओर अवार्डमा पनि सलाहले मेस्सी र रोनाल्डोको वर्चस्वलाई कडा चुनौती दिने अपेक्षा गरिएको छ । पाँच पटक यो उपाधि हात पारेका मेस्सीले सन् २०१५ यता उपाधिविहिन रहँदै आएका छन् । रोनाल्डो र सलाह आगामी मे २६ मा हुने च्याम्पियन्स लिग फाइनलमा आमने सामने हुँदैछन् ।  (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्