स्थानीय निर्वाचनका लागि मतदान, प्रधानमन्त्रीको परिक्षण हुँदै



लण्डन, २१ वैशाख

बेलायतमा बिहीबार भएको स्थानीय तहको निर्वाचनमा देशभरका मतदाताले उत्साहपूर्वक सहभागिता जनाएको सरकारले जनाएको छ ।

दशौं लाख मतदाताहरूले गरेको मतदानलाई प्रधानमन्त्रीको पहिलो ठूलो परीक्षणको रूपमा पनि हेरिएको छ । देशभरी रहेका १५० परिषद् क्षेत्रमा निर्वाचन भएको हो । सवै परिषद्मा गरेर झण्डै ४४ सय सिट रहेको थियो ।

प्रधानमन्त्री टरेसा मे र उहाँका श्रीमान् फिलिपले लण्डनको वेस्टमिनिस्टर मतदान केन्द्रबाट बिहानै मतदान गर्नुभएको थियो ।

राजनीतिक विश्लेषकहरूले जेरेमी कर्बीन नेतृत्वको प्रमुख प्रतिपक्षी दल लेवर पार्टीले सवैभन्दा धेरै ठाँउमा जीत हासिल गर्ने अनुमान गरेका छन् ।

मतदानलाई व्यवस्थित गर्न मतदातालाई पाएक पर्ने गरी पहिलेभन्दा धेरै ठाउँमा मतदान केन्द्रहरु राखिएका निर्वाचन अधिकारीले बताए । मतदाता सूचिमा नाम भएकाहरूलाई सवारी चालक अनुमतिपत्र, राहधानी जस्ता फोटो सहितका कुनैपनि आधिकारिक परिचयपत्रका आधारमा मतदान गर्न दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्