सेनाले एक हजार ४८ किलोमिटर सडक निर्माण गर्यो



काठमाडौँ, २१ वैशाख

नेपाली सेनाले हालसम्म मुलुकका २६ सडक आयोजनाको निर्माण (ट्रयाक खोल्ने) कार्य सम्पन्न गरेको छ ।

नेपाली सेनाको विकास निर्माण निर्देशनालयका अनुसार ती आयोजना सम्पन्न गर्ने क्रममा हालसम्म एक हजार ४८ किलोमिटर सडक निर्माण भएको छ । नेपाली सेनाले सडक निर्माणको जिम्मेवारी पाएका अधिकांश आयोजना दुर्गम एवं पहाडी जिल्ला रहेका छन् ।

नेपाली सेनाले सुर्खेत-जुम्ला, नाग्मा-गमगढी, बेँशीशहर–चामे, मुसीकोट-बुर्तिवाङ, बाग्लुङ-बेनी–जोमसोम, जोमसोम-कोरला, छिन्चु-जाजरकोट, सल्यान- मुसीकोट, अबुवा-भच्चेक, गोरखा-आरुघाट सडक निर्माण गरेको हो ।

काठमाडौँ-तराई मधेश दु्रतमार्ग, गोरखा-मनकामना, हिले-लेगुवा, कटारी ओखलढुंगा, त्रिशूली-सोमदाङ, सातदोबाटो-निवेलबालुवा, देवस्थल कैनाकाडा- चौरजहारी, वाग्मती क्षेत्र ढल निर्माण, चम्पापुर-बराहक्षेत्र वैकल्पिक मार्ग, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना प्रवेश मार्गको ट्रयाक पनि नेपाली सेनाले खोलेको थियो ।

सडक निर्माण तोकिएको समयमै गुणस्तरयुक्त ढंगबाट जिम्मेवारी पूरा गरेका कारण सरकारले नेपाली सेनालाई सडक निर्माणको जिम्मेवारी थप गर्दै गएको छ ।

होलेरी-चुनावाङ, खाडीचौर-बाह्रबिसे, माइतीघर-भद्रकाली, रायचौर-फारुलाचौर, मुसीकोट-सल्ले सडक आयोजनाको ट्रयाक खोल्ने कार्य पनि नेपाली सेनाबाट भएको थियो । अहिले नेपाली सेनाले मुलुकका पाँच सडक आयोजनाको पाइलट ट्रयाक खोल्ने काम गरिरहेको छ ।

नेपाली सेनाबाट निर्माणाधीन सडकको लम्बाइ ४७३ किलोमिटर रहेको नेपाली सेनाको विकास निर्माण निर्देशनालयले जनाएको छ । निर्माणाधीन आयोजनामा जाजरकोट-दुनै, कालीगण्डकी करिडोर, त्रिशूली-स्याफ्रुबेँशी, कर्णाली करिडोर र गोरखा-अरुघाट-लार्के सडक रहेका छन् ।

डोल्पाको सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न जाजरकोट-दुनै सडक निर्माण यसै आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ तीव्रस्तरमा ट्रयाक खोल्ने काम भइरहेको नेपाली सेनाका निर्माण कार्यदल प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्