काठमाडौं, २३ वैशाख
नेकपा एमालेका नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले दुई पार्टीको एकता नहोस भनेर अन्तर्राष्ट्रिय प्रतिकृयवादीहरु, नेपाली प्रतिकृयवादीहरु र जनताका सत्रुहरु रातदिन धुप बालेर बसिरहेको आरोप लगाएका छन् ।
राजधानीमा आयोजित कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोहमा बोल्दै खनालले उक्त आरोप लगाएका हुन् ।
नेपाली सर्वहारा र श्रमजीवी वर्गको अग्रदुताको रुपमा रहेको कम्युनिष्ट पार्टीलाई अझ बढी मजबुत बनाउने, अझ बढी राष्ट्रव्यापी बनाउने, अझ बढी जनव्यापी बनाउने र एउटा आशारूपी शक्तिको रुपमा विकास गर्ने आवश्यकता रहेको हुदा त्यहि कुराहरुलाई ध्यानमा राखेर अहिले नेकपा एमाले र माओवादी केन्द्रविच एकता गर्ने प्रक्रियामा अगाडी बढिरहेको कुरा नेता खनालले जानकारी गराए ।
युगले जुन किसिमले कोल्टे फेरिरहेको छ, जुन प्रकारले परिवर्तनको प्रवाह नेपाली समाजमा अगाडी वढिरहेको छ अब यो प्रवाहले दुई पार्टीलाई एकतावद्दा गर्नुको कुनै विकल्प नरहेको पनि बताए । दुइ पार्टी एकता हुनु भनेको नेपाली श्रमजीवी वर्गहरुको अग्रदुतको रुपमा रहेको कम्युनिस्ट पार्टी वलियो हुनु हो, राष्ट्रव्यापी हुनु हो अनि जनव्यापी हुनु हो भन्दै नेता खनालले अब यसलाई एकतावद्दा गरेर युगिन कार्यभार पूर्ति गर्दै अगाडी बढ्नुपर्ने समय आएको समेत जनाए ।
अब एकता नहोस भनेर धुप बाल्दै बसिरहेकाहरुको मुटुमा कम्पन आउने गरि अनि धुप बालेर केहि नहुने रहेछ भन्ने सोच्न बाध्य हुने गरि ऐतिहासिक एकीकरण गर्नेमा पनि जोड दिए ।