काठमाडौं, २५ वैशाख
संस्थापन विद्यालयको शुल्क लगायत विषयमा आन्दोलनरत विद्यार्थी संगठन र सरोकार पक्षविच सहमती भएको छ ।
२२ गते शनिवार शिक्षा विभागमा भएको वार्ता र छलफलमा तत्काल कार्यान्वयन गर्ने गरि ५ बँुदे सहमती भएको हो ।
शिक्षामन्त्री, शिक्षा सचिव, उपत्यका भित्रका महानगर र नगरपालिकाका प्रमुखहरु, आन्दोलनरत विद्यार्थी संगठनका नेताहरु, प्याप्सन एन प्याप्सनका अध्यक्षहरु, अभिभावक संघका अध्यक्षहरु, शिक्षा मन्त्रालय अन्तर्गतका पदाधिकारीहरुको उपस्थितिमा सो सहमती भएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी गराए ।
सहमती पत्रमा शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्साल, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, शिक्षा विभागका निर्देशक केशवप्रसाद दाहाल, अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश वर्तौला, नेविसंघका अध्यक्ष नैनसिंह महर, अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ, प्याप्सनका अध्यक्ष विजय सम्वाहाम्फे, एन प्याप्सनका अध्यक्ष रितुराज सापकोटाले हस्ताक्षर गरेका छन् ।
यस्तो छ सहमति
१) संस्थागत विद्यालय शुल्क मापदण्ड निर्दे्शिका २०७२ लाई कार्यान्वयन गर्दै गैर कानुनी रुपमा बढाइएको शुल्क फिर्ता गर्ने ।
२) दश प्रतिशत छात्रवृत्ति पारदर्शी गरि सूचना पाटिमा टाँस्ने ।
३) निर्देशिका पालना गराउन अनुगमन समिति बनाइ स्थानीय तहवाट अनुगमन गर्न मन्त्रालयले सहजीकरण गर्ने ।
४) विद्यालय हाताभित्र झोला, ड्रेस, पाठ्यपुस्तक विक्री वितरण तत्काल रोक्ने ।
५) विद्यार्थी संगठन संघर्षको सम्पूर्ण कार्यक्रम आजैवाट फिर्ता गर्ने ।