२६ वैशाख २०७५, बेइजिंग
चीनका राष्ट्रपति सी चिन फिङ र उत्तर कोरियाली नेता किम जोङ अनबीच चीनको उत्तरपूर्वी राज्य लिआओनिङमा यही सोमबार र मङ्गलबार भेटवार्ता भएको थियो ।
कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिएको तनाव र उत्तर कोरियाको आणविक हतियार परीक्षणपछि अमेरिकालगायत अन्तर्राष्ट्रियस्तरमा देखिएको तनाव अन्त्य गर्ने प्रयासस्वरूप उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन लागेको शिखर सम्मेलनको पूर्वसन्ध्यामा भएको दुई कम्युनिष्ट नेताबीचको भेटलाई विशेष महत्वका साथ लिइएको छ ।
चीनले मध्यस्थता वासिङ्टनलाई वार्तामा ल्याउन मध्यस्थता गरिरहेको भन्ने खबरहरू सञ्चारमाध्यममा आइरहेका समय भएको भेटमा किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्ताका लागि सरसल्लाह गरेको बताइएको छ ।
यसैबीच चिनियाँ भूमिमा भएको कार्यक्रममा कोरियाली नेता किमले भन्नुभयो, “चिनियाँ राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव सी र मेरोबीचमा चीन र उत्तर कोरियाबीच ऐतिहासिक बैठक गरी दुई एसियाली मुलुकको विकास र सम्बन्ध सुधारका लागि अभूतपूर्व ढङ्गबाट अघि बढ्ने असल संस्कृतिको विकास भएको छ ।”
करिब एक महिनाको समयमा राष्ट्रपति सीसँग भएको मेरो यो दोस्रो भेटले हामीबीचको आपसी विश्वास मात्र नभएर प्योङयाङ र बेइजिङबीच बृहद विकासका लागि मित्रवत एवम् समन्वयकारी भूमिकाको लागि नयाँ अध्याय शुरु भएको छ, उहाँले भन्नुभयो । यसले नयाँ युगको मागलाई सम्बोधन गर्ने छ ।
यसैबीच कोरियाली प्रायद्वीपमा रहेको तनावबारे बोल्नुहुँदै चिनियाँ राष्ट्रपति सीले भन्नुभयो, “भेटमा आफू र किमबीच भएको पहिलो भेटमा विचारहरूको आदानप्रदान भएको र पछिल्लो भेटमा किमले कोरियाली प्रायद्वीपमा रहेको तनावलाई सहज पार्न सक्रिय वार्ता प्रयास गरेको पाएँ ।” उहाँले तनावलाई सहजरूपमा अन्त्यका लागि रचनात्मक भूमिका खेलेको भन्दै किमको प्रसंशा गर्नुभयो ।
उहाँले कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्न गरेको उत्तर कोरियाली प्रतिवद्धतामा सहयोगी भूमिका खेल्ने तथा वाशिंगटन र उत्तर कोरियाबीचको वार्तामा मध्यस्थता एवम् परामर्श दिने बताउनुभयो ।
उक्त अवसरमा कोरियाली कम्युनिष्ट पार्टीका पछिल्ला गतिविधिबारे नेता किमले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका सीलाई जानकारी गराउनुभएको थियो ।