२७ वैशाख २०७५, काठमाडौं
कमल गाउँपालिका वडा नंं. ३ मा रहेको मेची युनेस्को क्लबको आयोजना तथा कमल गाउँपालिकाको सहयोगमा वैशाख १६ गतेदेखि श्री शहीद धर्मभक्त मा.वि. केर्खामा सञ्चालित १० दिने Montessori Learning Workshop आज वैशाख २५ गते एक समारोहबिच सम्पन्न भएको छ ।
शिशु कक्षामा अध्ययनरत बालबालिकाहरूलाई प्रभावकारी ढङ्गबाट शिक्षण गर्नको लागि आवश्यक पर्ने आकर्षक र उपयोगी शैक्षिक सामग्री निर्माण गराउने उद्देश्यले आयोजना गरिएको थियो । कार्यशालामा विभिन्न प्रकारका आकर्षक शैक्षिक समग्रीहरू निर्माण गरिएका थिए । कमल गाउँपालिका क्षेत्रभित्रका २४ ओटा विद्यालयहरूबाट ५० जना प्राथमिक तहका शिक्षकशिक्षिकाहरूको सहभागिता थियो ।
कार्यशालाको सहजीकरण प्रशिक्षकद्वय अर्जुन भट्ट र कमला देवकोटाले गरेका थिए । मेची युनेस्को क्लबका अध्यक्ष श्री मधुसुदन अधिकारीको अध्यक्षता तथा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले पोख्रेलको प्रमुख आतिथ्यमा सञ्चालित समापन समारोहमा उपाध्यक्ष वेणु शिवाकोटी, शिक्षा विभागका अधिकृत भोलानाथ दाहाल, स्रोतव्यक्ति केशवप्रसाद भट्टराईको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शहीद धर्मभक्त मा.वि केर्खाका अध्यक्ष चक्रबहादुर गुरुङ, प्र.अ. काजीमान पौडेल, महेन्द्र रत्न मा.वि., समयगढका अध्यक्ष राजनबहादुर ढुंगाना, प्र.अ. बालकृष्ण संग्रौला, मेची युनेस्को क्लबका पूर्वअध्यक्ष तथा कमला मदनआश्रित स्मृति मा.वि., क्याम्पसका प्राचार्य हिमप्रसाद दाहाल, मेची युनेस्को क्लबका पूर्व सचिव तथा महेन्द्र रत्न मा.वि.का शिक्षक विजयकुमार अधिकारी, नरेन्द्र जनता मा.वि., सरङपाडाका प्र.अ. गंगाप्रसाद प्रसाईं, मङ्गलमय मा.वि.मङ्गलबारेका प्र.अ. मोहन बगाले, सरस्वती मा.वि. रङपुरका प्र.अ. दुर्गा सेडाईं, शिक्षक हित साकोस, झापाका अध्यक्ष नारायणप्रसाद गौतम, सरस्वती आधारभूत विद्यालय मुजुरभिट्टाका प्र.अ. दुर्गाप्रसाद नेपाल, बाँसबारी आधारभूत विद्यालयका प्र.अ. केशव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मेनुका काफ्लेले कार्यशालामा सिकेको ज्ञान र निर्माण गरिएका शैक्षिक सामग्रीहरूलाई आ–आफ्ना विद्यालयमा गएर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।