२८ वैशाख २०७५, काठमाडौँ
रिड नेपाल नामक सामाजिक संस्थाले नेपालका विभिन्न ४२ जिल्लामा ६७ वटा सामुदायिक पुस्तकालय स्थापना गरेको छ । समुदायमा पुस्तकालयको स्थापना गरी स्थानीयवासीलाई शैक्षिक विकास गर्ने उद्देश्य राखेको छ । पछिल्लो पटक विकास गरेका केही पुस्तकालयमा महिला, बाल, युवा, सूचना कक्ष तथा श्रव्यदृश्यको समेत व्यवस्था गरिएको संस्थाका अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
उक्त संस्थाले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय विभिन्न दातृ संघसंस्थासँग समन्वय गरी पुस्तकालय विकास तथा पुस्तकालयमार्फत विभिन्न सीपमूलक कार्यक्रमसमेत सञ्चालन गरी स्थानीयवासीको सामाजिक रुपान्तरणमा समेत भूमिका निर्वाह गरेको छ ।
सन् १९९१ मा स्थापना भएको रिड नेपालले भूकम्पको क्षतिपछि पुस्तकालय वरपर क्षेत्रका नागरिकलाई राहत सामग्री वितरण गरी सामाजिक सेवा सञ्चालन गरेको जनाइएको छ । संस्थाले देशका विभिन्न जिल्लामा रहेका भूकम्पले प्रभाव पारेका ६ वटा पुस्तकालय भने पूरै भत्काएर पुनःनिर्माणसमेत सम्पन्न गरेको छ ।
त्यसैगरी, समुदायमा आधारित समावेशी विपत् जोखिम न्यूनीकरण परियोजना अन्तर्गत नुवाकोट, दोलखा, स्याङ्जा, मुस्ताङ, महोत्तरी र सोलुखुम्बुमा उत्कृष्ट पुस्तकालय सञ्चालनमा ल्याइएको अधिकृत श्रेष्ठले जानकारी दिएका छन् ।