२९ वैशाख २०७५, काठमाडौँ
‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ दुई दिने दोस्रो सिल्भर स्राईन भ्याली तेक्वान्दो प्रतियोगिता आज विधालय हाता कपनमा सम्पन्न भएको छ । उपत्यकाका तीन जिल्लाबाट १७ समूह सहभागी खेलमा २८० खेलाडी सहभागी भएका थिए ।
५ गोल्ड, ६ रजक र ३ कास्य गरी प्रथम पुरस्कार सिल्भर स्राईनले नै हात पारेको छ । ५ गोल्ड, १ रजक र ३ कास्य सहित शारदा तेक्वान्दो क्लव दोश्रो, २ गोल्ड, २ रजक र ६ कास्यसमेत सेतो वंगलाले तेश्रो भएको जानकारी तेक्वान्दो संघ ललितपुर जिल्ला सचिव विमल कुमार आछामीले दिएका छन् ।
राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रिय अध्यक्ष शिव कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुबराज न्यौपाने विशेष अतिथि र तेक्वान्दो संघ नेपालका केन्द्रिय सदस्य राजेश लामा सहित विभिन्न विधालयका प्रिन्सिपलहरुको समेत सहभागिता थियो ।
प्रमुख अतिथि कोईरालाले नेपालको खेलकुद क्षेत्र विगत केहि वर्षदेखि अगाडि वढ्दै आएको र नेपाललाई खेलकुदको देश भनेर चिनाउन आफुहरुलाई लागिरहेको बताएका थिए । तेक्वान्दो अन्तर्राष्ट्रिय खेल भएकोले सो खेल अगाडि बढाउन आफू लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे । खेलकुदले आर्थिक सम्वृद्धिलाई समेत सघाउने उनको जोड थियो ।
विशेष अतिथि ध्रुवराज न्यौपानेले विश्वभर खेलकुद क्षेत्र विकास र शान्तिका लागि महत्वपूर्ण बन्दै गएकोले नेपाल सरकारले यसको व्यबस्थापन र विकासमा विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।