उत्तर कोरियालाई अमेरिकाले सघाउने



३० बैशाख २०७५, वासिङटन

आफ्ना पारमाणविक अस्त्रहरू परित्याग गर्न उत्तर कोरिया सहमत भएमा अर्थतन्त्रको पुनःविकासमा अमेरिकाले सघाउने भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यस कार्यमा दक्षिण कोरियाले पनि सघाउने जानकारी समाचारमा जनाइएको छ ।

हालै उत्तर कोरियाको भ्रमण गरेर फर्किएका विदेशमन्त्री माइकले उत्तर कोरियाको भ्रमणका क्रममा त्यहाँका नेता किम जोङ उनसँग सौहार्दपूर्ण वार्ता भएको बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच अगामी जुन १२ मा सिंगापुरमा शिखर बैठक हुने तय भएको छ । यसअघि उत्तर र दक्षिण कोरियाबीच गत अप्रिलमा भएका महत्वपूर्ण वार्ताहरूपछि ट्रम्प र किमले शिखर बैठकबारे घोषणा गरेका थिए । यसअघि एकअर्कामाथि कडा आरोप प्रत्यारोप गर्ने गरेका दुई देशबीचको भेटवार्ता हुनलागेको हो ।

“यदि किमले सही बाटो रोज्नुभयो भने उत्तर कोरियाली जनताका लागि शान्ति र समृद्धिले भरिएको भविष्य हुनेछ,” वासिङटनमा दक्षिण कोरियाली समकक्षीसँगको भेटवार्तापछि माइकले भनेका थिए । माइकले उत्तर कोरियालाई छिट्टै निशस्त्रीकरणका लागि सशक्त कदम चाल्नसमेत आग्रह गरेका थिए ।

अमेरिकी विदेशमन्त्री माइक अकस्मात गत बुधबार उत्तर कोरिया पुगेको बेला उत्तर कोरियाको थुनामा रहेका भनिएका तीन जना अमेरिकी नागरिक बुधबार रिहा गरेका थिए । अमेरिकी विदेशमन्त्रीका रूपमा उत्तर कोरियाको एक दुर्लभ भ्रमणका क्रममा उनी बुधबार त्यहाँ पुगेका थिए ।

उत्तर कोरिया र अमेरिकाले नै दुवैतर्फका नागरिकलाई दुवै देशको भ्रमणमा रोक लगाउने गरेका छन् । तर पनि बर्सेनि ठूलो संख्याका अमेरिकी नागरिकले उत्तर कोरियाको भ्रमण गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्