३० वैशाख २०७५, काठमाडौं
बाल्यकाल
बुवा भीमबहादुर थापा र आमा राधादेवी थापाका आठ ( ५ दाजुभाई, ३ दिदीबहिनी) छोराछोरी मध्ये माईला छोरा हुन् – रामेश्वर थापा । भक्ति थापा बंशमै रहेका ५२ थरीका थापाहरु मध्ये उनी गोदार थापामा पर्दछन् । २०२३ असार १९ गते सिद्धपोखरी-९ ( परिवर्तित चैनपुर न.पा.२) संखुवासभामा जन्मिएका उनी हिमाली वातावरणमा गाउँमै हुर्के । सिद्धेश्वरी प्रा.वि. मा तीन कक्षासम्म पढेका उनी शारदा मा.वि. चैनपुरबाट सात कक्षा र वाना दुब्द व्यवसायिक विद्यालय वानाबाट एस.एल.सी. उतिर्ण गर्न सफल भए ।
उनको जिल्लाबाट २०३८ को एल.एल.सी. परीक्षामा कसैले पनि प्रथम श्रेणी ल्याउन सकेनन् । आफ्नो विद्यालयका १३ परीक्षार्थी मध्ये ७ जनाले एस.एल.सी. गरेकोमा उनी राम्रो अंक ल्याएर दोश्रो श्रेणीमा उतिर्ण भएका थिए ।
एस.एल.सी. पढेपछि सरकारी जागिर खानुपर्छ भन्ने सामाजिक धारणा नै थियो । अझ थापा खलकमा प्रत्येक परिवारबाट कम्तिमा एकजनाले सरकारी जागिर खाएकै थिए । जसले गर्दा उनलाई सानैदेखि सरकारी जागिरे खाने दवाब बढ्यो ।
जागिरे जीवन
एस.एल.सीपछि गाउँकै स्कूलमा साना बच्चाबच्ची पढाए । नि:शुल्क रुपमा पढाउने उनलाई भोटेका बच्चाले ‘सर तँ नि मकै खा’ भन्दै भुटेको मकै दिएको अझै याद छ । केहि समयपछि काठमाडौं आएका रामेश्वरलाई दाई वीरेन्द्र थापाले परिवार नियोजन संघको सुपरभाइजर पदमा अस्थायी नियुक्ति दिएर मोरङका गाउँ-गाउँमा बन्ध्याकरण गर्न प्रेरित गर्ने जिम्मा दिए । मोरङ जिल्लाको बबियाब्रिता गाउँ विकास समितिमा काम गर्न गएका उनले जनस्वास्थ्य र पञ्जिकाधिकारीको समेत काम गरे । तीन महिने कामबाट प्रभावित भएर तत्कालिन प्रधानपञ्च अकालु राजवंशीले तलब बिनाको सचिव पदमा नियुक्ति दिए । राम्रो जागिर खाईरहेका थापा प्रधानपञ्चसँग हिड्दा पाएको सामाजिक ईज्जतमा लोभिएर मासिक ५२० को जागिर छोडेर खानपिन कै भरमा प्रधानपञ्चको पछि लागे ।
सिमावर्ती क्षेत्रमा हुर्किएका थापालाई हरेक वर्ष भारतीय डाँकाबाट सिंगो गाउँ लुटिएको पिडा थियो । डाँकाहरु गाउँलेले वर्षदिन खान साँचेको खाद्यान्न, लत्ताकपडा, गरगहना र पालिएका चौपायाहरू पनि लुट्थे । त्यतिमात्र होईन लगाई रहेका गहना लुट्ने क्रममा महिलाहरुलाई कुटपिट र बलात्कारसम्म गरेका दृश्यहरु आफैले देखेका थिए । डाँकाबाट लुटिएका परिवारको चित्कार र पीडाले उनलाई प्रहरीमा जागिर खाई सिंगो गाउँको संरक्षण गर्नुपर्छ भन्ने भावना जाग्यो ।
परिवारमा सल्लाह गर्दा अनुमति नपाउने आशंकाले बुवाआमा र परिवारका कसैलाई थाहै नदिई थापाले प्रहरीमा दरखास्त दिए । शैक्षिक योग्यता र दौडमा पास भएपछि उनी तत्काल प्रहरी जवानमा छानिए ।
पहाड र तराई दुवैतिर घरपरिवार भएकोले केहि महिना पहाड गयो भनेर खोजी भएनछ । जागिर लगाउने दाई नै घरमा पुगेर भाइले जागिर छोडेको गुनासो गरेपछि उनको ब्यापक खोजतलासी भएछ । तालिमको पाँच महिना पछि मात्र उनका परिवारले उनी प्रहरीमा जागिरे भएको थाहा पाएछन् । घर नजिकै तालिम भएपनि छोटो कपाल काटेकोले उनलाई दशैँमा टिका लगाउँन समेत घर जान मन लागेनछ । अतिमाया गर्ने दिदिले तिहारमा घर नआए तालिम केन्द्रमै टिका लगाईदिने भनेपछि उनी भाइटिकामा भने घर गएछन् ।
प्रहरीको पिडा
प्रहरी हुनु समाजमा निकै शान थियो । तर तालिमको समयमा समेत अघाउन्जेल खान नपाउँदा उनीलाई साह्रै पिर लाग्थ्यो । उनी भन्छन्, ‘अहिले पनि प्रहरीमा तल्लो दर्जाकालाई हेप्नै पर्छ भन्ने भावना छ, झन् त्यो समयमा त अति नै अत्याचार हुन्थ्यो ।’ सरकारी जागिरमा हाकिमको दादागिरी खपी नसक्नुको थियो । डिएसपीहरुले त झन् आफै राजा झैँ शासन चलाउँथे । तालिमको समयमा समेत हाकिमहरु गाईको घ्यु भनेर डाल्डा घ्यु, खसी भनेर बाख्री, मासु भनेर मस्यौरा ख्वाउथे । मासिक ३८० तलब थाप्ने प्रहरी जवानहरुको बोल्ने र गुनासो गर्ने हैसियतसम्म हुदैनथ्यो ।
यद्धपी उनी आफ्नो उद्देश्यमा प्रतिवद्ध थिए । जागिरे जीवनको शुरु समयमा नै उनी आफ्नो गाउँमा गए । डाँकाहरु आउने पनि लगभग समय थाहा हुन्थ्यो । पुरा तयारीमा गएका उनले दोहोरो झडप भन्दै ५/७ जना डाँकाहरु मारेपछि अहिलेसम्म गाउँमा लुटपाटका घटनाहरु छैनन् ।
युवराज दीपेन्द्रसँग विताएका १४ रातहरु
जागिरको शिलशिलामा उनी ताप्लेजुङ जिल्लाको लेलेप गाविसको उत्तरी सिमा प्रहरी चौकी घुन्सामा ईन्चार्जको रुपमा कार्यरत थिए । जहाँ अन्नपूर्ण, पाथीभरा र गेमिगेला जस्ता प्राकृतिक ठाउँ घुम्न स्वदेशी तथा विदेशी पर्यटकहरु समेत जान्थे । ताप्लेजुङ सदरमुकामबाट ५ दिन हिडेर पुग्ने त्यो ठाउँमा तत्कालिन युवराज दीपेन्द्र शाह १४ जनाको समुहमा आर्मी पोशाकमा पुगेछन् । पारिवारिक तनाव कम गर्न र जडीबुटीको सम्भाव्यता बुझ्न पुगेका राजकुमारको टोली १५ दिनसम्म उनीसंगै बसेछन् ।
दीपेन्द्र सहितको टोली थापासँगै खाने, बस्ने र सुत्ने गर्दथे । थापा दैनिक गतिविधिहरु माथिल्लो निकायमा रिपोर्ट गर्थे । तर उनले भनेको कसैले पत्याउदैनथें । हाकिमहरु उल्टै गाली गर्थे गाली खाएपनि उनले आफ्नो कोड भाषाको रिपोर्टिङ्ग जारी राखे । युवराजको आदेश अनुसार उनले चौकीमा चाँही अन्य प्रहरीहरुलाई थाहा नै दिएनछन् । उनले युवराजको टोलीलाई चौध दिनमा लाक्पा छेतेन गुम्बा, दुध पोखरी, हजारीओडार र खम्बाचेन फाँट लगायतका ठाउँहरु घुमाए ।
युवराजसँग विताएका क्षणहरु सम्झिदै थापा भन्छन्,’सरकार र मैले एउटै भाँडाको खाना खायौं, सरकार मेरै खाटमा सुतिबक्सियो । खाना अति सामान्य थियो । उसिनेको चामल र आलुको तरकारी हुन्थ्यो । सरकार र हामी अन्नपूर्ण क्याम्प जाँदै गर्दा दोश्रो क्याम्पपछि सरकारको ढाड दुखेर हिड्न नसक्ने हुनुभयो अनि खच्चडसम्म नभएकोले डोकोमा बोकेर चौकीसम्म झारियो । सरकार बिरामी भएपछि उहाँकै आदेशमा हेलिकप्टर मगाउन कोड भाषामा पटकौँ समाचार पठाएँ । मैले जति समाचार पठाएपनि हाकिमले पत्याउदै पत्याएनन् । मेरो कुरा नपत्याएपछि मैले सरकारलाई जाहेर गरे । सरकारले दरबारको गोप्य नम्बर दिईबक्सियो । त्यो नम्बर मैले डीकोड गरेर हेडक्वाटरमा पठाएपछि सबैतिर हल्लाखल्ला मच्चियो । सरकारलाई लिन तत्काल हेलिकप्टर आयो ।’ थापा भन्छन्,’ दुई हप्तासम्म बस्दा सरकारले कुनै भेदभाव गरिबक्सेन । सरकार अरु भन्दा निकै भिन्न होईसिन्थ्यो । मैले खाने थालमा भूजा खाईसिन्थ्यो । मेरै खाटमा सुतिबक्सियो । ओड्ने खासै थिएन, यतिसम्म कि राति जाडो बढ्दै गएपछि थापा जाडो भयो, तिमीसँगै सुत्छु भन्दै आईसिन्थ्यो । सिपाहीलाई आगो बाल्न लगाएर हामी सँगै सुत्थ्यौं । मसँगको बसाईमा सरकारलाई निकै नम्र, कुरा बुझ्ने र अति सरल स्वभावको पाएँ।’
सरकारले बक्सिस दिनुभएन,’सरकारले सोधिबक्स्यो, मैले बढुवा वा शान्ति सेनामा जान्छु भन्दा पनि पाउथें तर मलाई त्यो विकटको जर्जर चौकीलाई व्यवस्थित गर्नुथियो । मैले भने,’ सरकार म जन्मिनु भन्दा अगाडि बनेको यो चौकी निर्माणमा सहयोग गर्नुपर्यो ।’ उनी थप्छन्,’सबैभन्दा ठूलो कुरा म सँग हात मिलाईबक्सियो र सरकारले म हेर्छु भनिबक्स्यो ।’
डिएसपी दानसिंहले खाए चौकी बनाउने १२.५ लाख
सरकारले काठमाडौं पुगेको १ घन्टामै १२ लाख ५० हजार पठाईबक्सेछ । जिल्लाको डी.एस.पी. दानसिंह बोहोराको हातमा त्यहि दिन पैसा आईपुगेछ । मलाई चौकी बनाउने आदेश आयो,’ मैले २ लाख ५० हजारमा श्रमदान गरेर चौकी भवन बनाएँ । तर सरकारले पठाईबक्सेको एक रुपैयाँ पनि मेरो हातसम्म आईपुगेन ।’ भवन निर्माणपछि फोटो खिचेर दरबारमा आउनु भनिबक्सेको थियो । फोटो त खिचेँ तर उहाँलाई फेरी भेट्ने सौभाग्य पाईन । केहि समयपछि नै दरबार हत्याकाण्ड भयो ।
दरबार हत्याकाण्डमा त दीपेन्द्रकै हात थियो भन्ने प्रश्नमा उनी भावुक हुँदै भन्छन्,’ यो हुनै सक्दैन । मैले सुने दीपेन्द्र सरकारको मुखुण्डो लगाएर हत्या गरेछन् । म ग्यारेन्टीसाथ भन्न सक्छु, दीपेन्द्र मात्रै हैन पारस सरकारलाई पनि घटनाबारे थाहा थिएन ।’
रक्सीले मातेको हाकिमलाई रामधुलाई
दीपेन्द्रको निधनपछि थापाले घुस्याहा भएको ठाउँमा बस्दिन भन्दै क्षेत्रीय प्रहरी कार्यालय विराटनगर सरुवा भएछन् । विराटनगर भन्सारमा गएको तेश्रो दिनमै अत्याधिक रक्सी पिएर रातको समयमा पिसाबले पाईन्ट भिजाएर अनियन्त्रित अवस्थामा हाजिर गर्न गएका भन्सारका हाकिमले कर्फ्यूको समयमा दुर्व्यवहार गरी अपशब्द बोलेपछि रामधुलाई गरेछन् । जागिरे जीवनमा देशका विभिन्न भू-भागमा खटिएका थापा गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुँदा लामो समय व्यक्तिगत सुरक्षाकर्मी भएर बिताए ।
देउवाको दबदबा : माओवादी क्रुरता
शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि देशभरिमा जम्मा उनलाई मात्र सरुवा गराएर माओवादी अति प्रभावित मानिने दोलखाको सिङ्गटीमा सरुवा गरेछन् ।
दोलखामा खटाईएका थापा माथिल्लो तहको निर्देशनपछि अति द्वन्द्वग्रस्त माओवादी क्याम्प तोड्न गए । सरकार पुग्नै नसकेको माओवादीको सिङ्गटी तालिम केन्द्र ध्वस्त पार्दै निकै माओवादी नेता समातेर ल्याए । उनी भन्छन्-‘राज्यले पाल्न सक्दैन, जो भेटेपनि मारिदिनु भन्ने आदेश थियो तर मैले मानवीय धर्म निभाएर पुनर्जीवन दिई धेरै माओवादी नेताहरुको ज्यान बचाएँ ।’
जिल्ला सदरमुकाममा ल्याएपछि नेपाल सरकारको तर्फबाट थुनुवा पुर्जीमा रामेश्वर थापा जाहेरीकर्ता भनेर मुद्दा दर्ता गरियो । माओवादी देशभरिनै थिए । त्यहि कारणले माओवादीले मेरो परिवारमा निकै धम्की दिए । श्रीमतीले ‘कि मलाई छोड्नु कि जागिर छोड्नु भन्दै पटकौँ अनुरोध गरिन ।’ मलाई साह्रै गाह्रो पर्दा पनि तत्कालिन प्रहरी र सरकारले आवश्यक सहयोग गरेन ।
धार्मिक अभियानमा समर्पण
प्रहरी सेवामा रहँदा घरबिदा बसेको समयमा माओवादीले उनको दाहिने खुट्टा काटिदिए । उनी भन्छन्,’मैले पुर्नजीवन दिएका माओवादीलाई थुनेको आरोपमा उनीहरुले मलाई मार्ने नियतले हान्दा मेरो दाहिने खुट्टा गुम्यो । म अहिले अपाङ्ग भएपनि खुशी छु, सेवामा रहँदा मैले कसैलाई अन्याय गरिन अपमान तथा अपशब्द बोलिन ।
थापा नेपाल सरकारले हिन्दू राष्ट्रलाई धर्म निरेपेक्ष राष्ट्र घोषणा गरेकै दिन प्रहरीको जागिरबाट राजीनामा दिएर धार्मिक अभियानमा होमिए। योगी नरहरिनाथको प्रभावमा रहेका थापाले आफ्नै नेतृत्वमा पाँच पटकसम्म मेची-महाकाली धार्मिक जागरण संचालन गरे। यहि अवधिमा उनले टुडिखेलमा पाँच ठूला यज्ञ लगाए । उठेको रकमबाट देशभरी नि:शुल्क ॐ झण्डा वितरण गर्दै हिडे । उनी र शंकर पौडेलले हिन्दू राष्ट्र पुन:स्थापनार्थ निकै अभियान चलाए ।
ब्राम्हण, बाइबल र विद्वानले सनातन धर्म संस्कृति सकेको बताउने थापा अहिले विश्व हिन्दू महासंघ नेपालका सचिव हुन् भने लामो समयदेखि भगवती मानवकल्याण समाजको राष्ट्रिय अध्यक्ष रहेर सांस्कृतिक जागरणको अभियानमा लागिरहेका छन् ।
हिन्दू जागरणमा लामो समय विताएका थापा अहिलेभने सबै सनातनी एकभई सनातन संस्कृति बचाउने अभियानमा छन् । राष्ट्रिय एकता, मेलमिलाप र सहअस्थित्वको लागि सनातन संस्कृति भित्रका हिन्दू, बौद्ध, किराँत, जैन, शिखहरु एक बनाएर अघि बढाउन लागिपरेका छन् । धर्म रक्षाको अभियानमा समर्पित थापा बाँकी जीवन सनातन संस्कृतिको रक्षामा नै विताउने योजनामा रहेका छन् ।’