३० वैशाख २०७५, काठमाडौं ।
नेपालका सन्दिप लामिछानेले आईपीएलको डेब्यू खेलमा विकेट लिएका छन् । दिल्ली डियरडेभिल्समा आवद्ध उनले शनिबार रोयल च्योलेन्जर्स बैंग्लोर विरुद्ध डेब्यू गरेका थिए । तर, उनको टिम बैंग्लोरसँग ५ विकेटले पराजित भएको छ ।उनको टीम प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनायो । रिसव शर्मा पन्तले ६१ रन बनाउँदा अभिषेक शर्माले डेब्यू खेलमै अविजित ४६ रन बनाए । बैंग्लोर जवाफी ब्याटिङमा उत्रँदा दिल्लीका कप्तान श्रीयस ऐयसले सन्दिपलाई पहिलो ओभरमा नै बल थमाए । त्यो ओभरमा ६ रन दिएका सन्दिपले आफ्नो दोस्रो ओभरको चौथो बलमा पार्थिव पटेललाई ६ रनमा एलबीडब्लू धरापमा पारे ।
उनले ४ ओभरमा २५ रन दिए ।
बोल्ट र सन्दिपले क्रमशः दोस्रो र तेस्रो ओभरमा विकेट लिएपनि विराट कोहली र एबी डिभिलियर्सले ११८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । कोहली ७० रनमा आउट भए डिभिलियर्स ७२ रनमा अविजित रहे ।
यो हारसँगै दिल्ली समूह चरणको २ खेल बाँकी छँदै बाहिरिएको छ भने बैंग्लोरको गणितीय सम्भावना कायमै छ ।