संसदमा खेलाडी बिमाको आवाज उठ्यो



३१ वैशाख २०७५, काठमाडौं

बिमासम्बन्धी खेलाडीको कुरा प्रतिनिधिसभाको बैठकमा उठेको छ । संसदमा नेकपा एमालेका सांसद तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीको बिमा, १३ औं दक्षिण एसियाली खेलकुदलगायतको विषयलाई बजेटमा प्राथमिकता दिनुपर्ने कुरा उठाएका छन् । बिहीबार संसदमा बोल्ने क्रममा देशको प्रतिष्ठासँग जोडिएका खेलाडीलाई निर्धक्क भएर खेल्ने वातावरण तयार गर्नका लागि बिमा गर्ने व्यवस्था बजेटमार्फत नै हुनुपर्ने धारणा राखेका थिए । ‘खेलाडीको आत्मबल वृद्धि हुने गरी उनीहरूको वास्तविकतामा आधारित बजेटको आवश्यकता रहेको छ,’ उनले भने । त्यसैगरी, उनले सन् २०१९ मा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुदको आयोजनाका लागि पूर्वाधार निर्माण लगायतको विषयलाई सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए ।

‘१९८४ मा पहिलोपटक नेपालको राजधानी काठमाडौंमा दक्षिण एसियाली खेलकुदको आयोजना भएको थियो । त्यसैगरी, १९९९ मा नेपालले दोस्रोपटक प्रतियोगिताको आयोजना गरेको थियो । यसपटक फेरी नेपालले सो प्रतियोगिता गर्ने अवसर पाएको छ । यसलाई हामीले गुमाउनुहुँदैन,‘यसका लागि सरकाले विशेष ध्यान दिनका लागि म ध्यानाकर्षण गराउन चाहान्छु-उनले भने

श्रेष्ठ दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्