०१ जेष्ठ २०७५, काठमाडौँ
काठमाडौँ महानगरपालिकाले धुलो सफा गर्नका लागि तत्काल ब्रुमर यन्त्र खरिद गर्ने भएको छ । नयाँ जनप्रतिनिधि चुनिएपछि प्राथमिकतामा रहेको कामपा ‘क्लिन द सिटी’ अभियान शुरु भए संगै सडकको धुलो सफा गर्नका लागि सो यन्त्र ल्याउन लागेको जानकारी कामपाका सूचना अधिकारी वसन्त आचार्यले दिएका छन् ।
आचार्यले भने, गत चैत २२ मा उक्त यन्त्र ल्याउन बोलपत्र आह्वान गरिएको थियो । त्यसका लागि सात वटा कम्पनीले बोलपत्र गरेका थिए । रविनमान श्रेष्ठको संयोजकत्वमा बोलपत्र छनोट मूल्याङ्कन उपसमिति गठन गरिएको थियो । कामपाले १२ करोड मूल्य बराबरको पाँच वटा ब्रुमर ल्याउने तयारी गरेको छ ।
अहिले कामपाले कुचोको सहयताले धुलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गर्नुका साथै कामपा भवन बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज आसपास र भद्रकालीबाट एक हजार ६०० टन धुलो र फोहर संकलन गर्दै आएको छ । अघिल्लो वैशाखमा जनप्रतिनिधि आएसँगै शुरु गरेको ‘क्लिन द सिटी’ अभियानअन्तर्गत उक्त परिमाणमा धुलो व्यवस्थापन गरिएको हो ।