दुई दिनको समय राखेर पार्टी एकता हुन सक्छ : प्रधानमन्त्री ओली



०२ जेठ २०७५, काठमाडौं

राजधानीको राष्ट्रिय सभा गृहमा हिजो भएको युवा संघ नेपालको २८ औं स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब कुनै पनि दिन पार्टी एकता हुने बताए ।

आश्चर्य मान्नु पर्दैन दुई दिनको समय राखेर पनि पार्टी एकता हुन सक्छ भन्दै ओलिले भने अब आफूहरुको एकता भाँड्न खोज्नेहरुलाई जवाफ दिँदै कुनै पनि दिन एकता हुन्छ । अब एकताको अन्तिम तयारी भैसकेको हुँदा सबै नेता तथा कर्याकर्ताहरुलाई तयारीमा रहन आह्वान समेत गरे ।

यतिखेर सामाजिक संजालहरुमा “दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बीर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ, सन्तोष मान्दै गरुन् तर हामी दुई तीन दिनको समय राखेर पनि एकताको मिति घोषणा गर्न सक्छौँ । त्यतिबेला चाल पाउने छन् कताकता फर्केका थिएछन् भनेर ।

पत्रकारहरु भोली बालुवाटरमा हेर्न आए हुन्छ, एमाले र माओवादीका नेता कता फर्केका रहेछन् । एमाले भित्रकै नेताहरु पनि फरक-फरकतिर फर्केका छन् भनेर लेख्ने पत्रकारहरु भोली बेलुका ४ बजे बालुवाटार आउनु अनि हेर्नु एमालेका नेताहरु कताकता फर्केका रहेछन् ।

आफ्नो भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका अवसरमा आफूले नेपालको स्वाभिमानमा आँच आउने कुनै काम नगरेको बरु विगतमा भएका राष्ट्रहित विरोधी व्यवहारलाई सच्याएको दाबी पनि प्रधानमन्त्री ओलीले गरे ।

विगतमा सरकार प्रमुखले भारतीय प्रधानमन्त्रीसँग

‘हजुर संविधान संशोधन गर्छु’ भनेर घुँडा टेकेको तर यतिबेला मोदीले नेपालमा संविधान जारी भई निर्वाचन सम्पन्न भए पश्चात नयाँ सरकार गठन भएकोमा यसलाई स्वर्णिम समय भन्दै नेपालको प्राथमिकता र आवश्यकतामा सहयोग गर्छु भनेकाले नेपालको शिर झुक्यो कि भनेर भ्रममा नपर्न सबैमा आग्रह समेत गरे ।

उनले भने हेर्नुहोस् अबको तीन वर्षपछि नेपालले भारतलाई बिजुली बेच्ने स्थिति आउने छ । सरकारले सुन तस्करी र यातायातमा एकाधिकार तोडेको उल्लेख गर्दै उनले भ्रष्टाचार, कालोबजारी, तस्करीको विरुद्ध अभियान छेड्न युवालाई आह्वान गरे।

भारतीय प्रधानमन्त्रीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले दिएको अभिव्यक्ति गलत भएको र त्यो नेपाल सरकारको धारणा नभएको र कुनै हालतमा हुन नसक्ने पनि प्रधानमन्त्री ओलीले स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस्