एमाले र माओवादीबिच पार्टी एकता कार्यक्रम चल्दै



०३ जेठ २०७५, काठमाडौँ

नेकपा एमाले र माओवादी केन्द्र बिचको पार्टी एकता कार्यक्रम शुरु भएको छ । राजधानीस्थित राष्ट्रिय सभा गृहमा यतिखेर एकता कार्यक्रम संचालन भइरहेको छ । लगभग पार्टी एकता नहुने चर्चाकाबीच हिजो दुई अध्यक्षले भोली नै पार्टी एकता हुन लागेको बताएसँगै आज एकता कार्यक्रम भएको हो ।

दुई अध्यक्षबीच हिजो वान टु वान छलफल भएको थियो । छलफल लगत्तै बसेको एमाले स्थायी कमिटी बैठकले पनि यो कुरा पुष्टि गरेको छ। त्यसैगरी  माओवादी केन्द्रको हेडक्वार्टर बैठकले पनि यसको पुष्टि गरेको छ । आज १ बजे दुबै पार्टीको अन्तिम केन्द्रीय कमिटी बैठक बसेर दुबै पार्टीको केन्द्रीय कमिटी र पार्टीको नाम विघटन गरेका थिए। विघटनसँगै आजै बालुवाटारमा बैठक बसेर नयाँ केन्द्रीय सदस्य चयन गरेका थिए ।

दुबै पार्टी विघटन गरेसँगै आज बेलुका ५ बजे नयाँ पार्टी घोषणा गरिएको हो । घोषणासँगै अब नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहेको छ । आजै उक्त नाम निर्वाचन आयोगमा दर्ता पनि भइसकेको छ । पार्टीको चुनाव चिन्ह यसअघि नेकपा एमालेको चिन्ह सूर्य राखिएको छ ।

४ सय ४३ केन्द्रीय सदस्य रहेको नेपाल कम्युनिष्ट पार्टीमा एमालेका २ सय ४२ र माओवादी केन्द्रका २ सय १ सदस्य रहेका छन्  ।

अब बन्ने नेकपाको स्थायी समिति ४५ सदस्यीय हुनेछ । स्रोतको अनुसार अब एमालेका २६ र माओवादीका १९ जना स्थायी समिति सदस्य भएका छन् । ९ सदस्यीय हाई कमान्ड पनि बनाइएको छ। दुबै पार्टीका अध्यक्षहरु अध्यक्ष र विष्णु पौडेल महासचिव रहेको पार्टीमा प्रवक्ताको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठलाई दिइएको छ ।

यतिखेर राष्ट्रिय सभा गृहको सभाहल खचाखच छ भने सभा गृह अगाडिको चौर कार्यकर्ताले भरिभराउ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्