०४ जेठ २०७५, काठमाडौँ
सरकारले शिक्षाबाट बञ्चित बालबालिकाका लागि थालेको भर्ना अभियानमा बुद्धभूमी नगरपालिका–२ गोरुसिंगे कपिलबस्तुका एक बालकको विद्यालय भर्ना गराएर अभिभावकत्व लिएका महानायक राजेश हमाल ‘बच्चाको बाबु’ बनेका छन् ।
महानायक हमालले नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय शिक्षा विकास समन्वय ईकाई कपिलवस्तुको समन्वयमा अभिभावक बनी ५ बर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गरेका हुन् । हमालले भने ‘राजप्रति मेरो धेरै चासो हुनेछ, म उसलाई पटक–पटक विशेष महत्वका साथ हेरविचार गर्नेछु’।
पिता गुमाएका र गरिब परिवारमा जन्मिएका राजलाई असल अभिभावकत्व प्रदान गर्ने गरी विद्यालयको भर्ना रजिष्टरमा अभिभावकको रुपमा हस्ताक्षर गर्दै हमालले लालनपोषणको लागि केही रकम सहित झोला, पाठ्यपुस्तक र स्टेशनरी सामान वितरण गरेका थिए ।