‘एक संघर्षशील आमा’ : राधादेवी अर्याल



दुई छोरा र एक छोरीकी आमा चालीस बर्षीय राधादेवी अर्याल सामाखुशी चोकमा विगत दुई महिनादेखि ठेलागाडामा मकै पोलेर बेचिरहेकी छिन् ।

०६ जेठ २०७५, काठमाडौँ

गतहप्ता साथी भेट्न सामाखुशी गएर सँगै खाजा खाने योजनामा हामी थियौं । बाईकमा हुँईकिदै जाँदा तोकिएको समयभन्दा अलि छिटो म पुगे । साथीको बैठक चल्दै थियो । उसले अफिसमै कुर्न अनुरोध गर्यो । मैले भोक खप्न नसकेर वरपर शाकाहारी होटल खोजे । भेट्नै सकिन । छेउकै ठेलागाडामा तुलसी माला लगाएकी हँसिली दीदीले मकै पोलेर बेचिरहेको देखें ।

गाउँमा हुँदा पोलेको मकै खाएको यादले मन थाम्नै सकिन । मकै खाने सोचले ठेलाछेउ गए । वरपर होटल नभेटिएपछि महङ्गा होटल चाहर्नु भन्दा पोलेको मकै नै उत्तम लाग्यो । दीदी भए छेउँमा गएर १ घोगा मकै पोल्न लगाए । चर्को घाममा असीन पसीन हुँदै उनले पोलेको मिठो मकै खाँदै गर्दा दीदी र म बिच उनका संघर्ष र दुःखका कुरा पनि भए । १ घोगा मकैको मुल्य २५ रुपैयाँ थियो मैले ५० रुपैयाँ दिएँ- फिर्ता नलिने गरी ।

मेरो अनुमान विपरीत उनले बढी पैसा लिनै मानिनन् । पैसा फिर्ता दिदै भनिन्–मलाई पाप लाग्छ, मैले मर्नु पर्दैन ? मेरो मन निकै भावुक भयो । धर्मको नाममा ठगी गर्ने धार्मिक अभियन्ता र पण्डितहरुलाई झलझली सम्झे । पैसाको लागि जे पनि गर्न तयार हुने युवा पुस्ता सम्झे । करोडौं खर्च गरी चुनाव जितेर धेरै करोड कमाउने हाम्रा नेताहरु सम्झे । पुजारीको नाममा मन्दिरहरुबाट करोडौं घोटाला गर्ने मठाधिश, पिठाधिश, गुरुहरु सम्झे ।

ठुला व्यापारीलाई करोडौंको चिन्ता होला तर राधादेवीलाई आफुले गरिरहेको पेशामा नगरपालिकाले अवरोध गर्ने आशंकाले चिन्तित छन् । नगरपालिकाले उठायो भने त्यतिबेलै के गर्ने भनी सोच्ने राधादेवी त्याग, संघर्ष र लगनशीलताकी प्रतिमूर्ति हुन् ।

धेरै पढेका, धेरै बुझेका, धेरै जानेका भनिएका हामी शिक्षित भनाउँदाहरुलाई पनि सम्झे । मैले फेरी दिदीलाई सोधे तपाईले तुलसीको माला किन लगाउनुभएको ? धर्मको बारेमा के थाहा छ ? उनको उत्तर सहज थियो–मैले पढेकी छुइन, मलाई मन्त्र जप्न पनि आउँदैन । आत्मा शान्तिको लागि माला लगाएकी हुँ तर कसैलाई ठग्दिन र पाप कर्म गर्दिन् । केही मिनेट अगाडि बढी  पैसा फिर्ता गर्ने राधादेवीको अनुहारमा केही परिवर्तन आएन, बाँकी पच्चीस रुपैंयाँको अर्को  घोगा मकै पोल्न अनुरोध गर्दै उनको बारेमा अझ बुझ्न मन लागेपछि थप कुरा अघि बढाएँ ।

दुई छोरा र एक छोरीकी आमा चालीस बर्षीय राधादेवी अर्याल सामाखुशी चोकमा विगत दुई महिनादेखि ठेलागाडामा मकै पोलेर बेचिरहेकी छिन् ।

बुटवल नगरपालिका वडा नं. ८ रामपुर, पाल्पा, आँपचौर घर भई कानको उपचारको लागि काठमाडौँ आईरहनु पर्ने भएपछि यतै दुःखजिलो गरेर जीवन निर्वाह गर्ने योजना बनाईन् । उनको योजनामा श्रीमानले पनि साथ दिए । काठमाडौँ महानगरपालिका वडा नं. ४ सुकेधारामा ४ महिना शाकाहारी भोजनालय संचालन गरेको उनको परिवारले मासु र रक्सी नबेच्ने कारणले गर्दा नै ४ महिनामा कमाईको साटो उल्टै तीन लाख नगद गुमाए । मासिक १७ हजार भाडा तिरेर संचालन गरेको होटलबाट नाफा कमाउनै नसक्ने निश्कर्ष निकाली होटल बन्द गरिन् ।

अहिले राधा दुई महिनादेखि टोखा नगरपालिका १० सामाखुशी चोकमा हरिया मकै पोलेर मासिक १५ हजार भन्दा बढी आम्दानी गरिरहेकी छिन् ।उनको आम्दानीले परिवार धान्न पुग्दो रहेछ । दिनको ५० रुपैयाँमा ठेलागाडा भाडामा लिएकी छिन् । बिहान ५ बजे उठेर श्रीमानले कालीमाटीबाट हरिया मकै ल्याउँछन् । १२ बजेदेखि ७ बजेसम्म ठेलागाडा माथि मकै पोल्दै दैनिक ६० देखि १०० घोगा मकै बेच्छिन्-उनी  ।

अर्काको घरमा भाडा माझ्न र लुगा धुनुभन्दा आफ्नै काम गर्नुमा उनलाई मज्जा लाग्छ । बिबिएस प्रथम बर्षमा अध्ययनरत उनकी छोरी कविता अर्याल सहकारीमा काम गर्छिन् । राधादेवीका एक छोरा एसएलसी गरेर अहिले प्लम्बरीङ्ग गर्दैछन् भने कान्छा छोरा १ कक्षामा पढ्दैछन् ।

मकै गफमा गफिदै गर्दा कविता टुप्लुक्क आईपुगिन् । आमाले गरिरहेको कामप्रति उनको चित्त दुखाई छैन । तर अलि चल्ने ठाउँमा सटर खोजेर मकै सहित खुद्रा पसल राख्न पाए हुन्थ्यो भन्ने उनको भावनाले हिनताबोध भन्दापनि आमाको स्वास्थ्य प्रति उनको चिन्ता प्रष्ट बुझिन्थ्यो ।

ठुला व्यापारीलाई करोडौंको चिन्ता होला तर राधादेवीलाई आफुले गरिरहेको पेशामा नगरपालिकाले अवरोध गर्ने आशंकाले चिन्तित छन् । नगरपालिकाले उठायो भने त्यतिबेलै के गर्ने भनी सोच्ने राधादेवी त्याग, संघर्ष र लगनशीलताकी प्रतिमूर्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्