‘भारतको नाकाबन्दीमा कांग्रेसका सन्डमुन्डले बोल्न नदिँदा हार’ :-चन्द्र भण्डारी



७ जेष्ठ २०७५, चौतारा

नेतृत्वले छोरीलाई दाइजो दिए जसरी टिकट बाँड्दा पार्टीले हार भोग्नुपरेको नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बताएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य भण्डारीले नेपाली कांग्रेस चौतारा साँगाचोकगढी नगर समितिद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘धनी बाबुले छोरीलाई दाइजो दिए जसरी पार्टीले उम्मेदवार छान्दा टिकट वितरण गरेकाले पराजय भोग्नु परेको हो’, ‘टिकट वितरणमा भएको गल्तीको क्षतिपूर्ति तिनै नेताहरुले तिर्नुपर्छ ।’

परिवारको उदाहरण दिँदै भण्डारीले थपे, ‘जसरी बाबु बुढो भएपछि घरको कारोबार छोरालाई सुम्पन्छ, त्यसैगरी नेतृत्वले पनि आफू नसक्ने भएपछि जिम्मेवारी त्याग्नुपर्छ ।’ ‘अब काँग्रेसमा नयाँ दृष्टिकोण र नयाँ नेतृत्व हुनुपर्छ, यही नेतृत्व रहे पार्टी शुन्यमा झर्छ’, उनले अब पार्टीका नयाँ नेतृत्वको खाँचो रहेको पनि बताए ।

कांग्रेसले भारतको नाकाबन्दीविरुद्ध बोल्न नसक्दा हारको सामना गर्नुपरेको धारणा राखे । भण्डारीले भने, ‘जुन दिन पार्टीका सुण्डमुण्डहरुले केन्द्रीय समितिमा नाकाबन्दी भन्ने शब्द राख्न दिएनन्, कांग्रेस त्यही दिन हारेको हो’, ‘कांग्रेस बिगार्ने नेतृत्व अबको महाधिवेशनमा बिदाइ गर्छौं ।’

 

प्रतिक्रिया दिनुहोस्