पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने सरकारी लक्ष्य



०७ जेठ २०७५, काठमाडौँ

सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती गर्ने लक्ष्य राखेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाइने उल्लेख गरेकी छिन् ।

आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने, दिगो विकासको लक्ष्य पूरा गर्ने, असमानता कम गर्ने, सबैलाई समान अवसर दिने उल्लेख गर्दै उनले कृषि ऊर्जा, उद्योग र पर्यटनलाई आर्थिक विकासका संवाहकको रुपमा अगाडि बढाउने बताएकी थिइन् ।

सरकारी, निजी तथा सहकारी साझेदारीमा विकासलाई प्रमुख आधारको रुमपा विकास गर्ने, प्रमुख शहरलाई हरित शहरमा विकास गर्ने, जैविक विविधताको संरक्षण तथा नदी किनारा संरक्षणमा जोड दिने, चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाउने र स्वच्छ पानी उपलब्ध गराउन विशेष ध्यान दिइने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

उद्योग तथा घरायसी प्रयोगका लागि २४ सै घण्टा विद्युत् सेवा उपलब्ध गराउने, प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइने सरकारको कार्यक्रममा समावेश छ ।

यस्तै पाँच वर्षभित्र तराईलाई काठमाडौँसँग जोड्ने द्रुत मार्ग तथा मध्यपहाडी राजमार्ग निर्माण गर्ने, मदन भण्डारी राजमार्ग निर्माणलाई विशेष जोड दिइने कार्यक्रमलाई समेत प्रमुख प्राथमिकतामा राखिएको छ ।

रसुवागढी-काठमाडौँ-पोखरा-लुम्बिनी रेलमार्ग निर्माण गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने सरकारको लक्ष्य छ ।

यस्तै सबै स्थानीय तहसम्म सूचना राजमार्ग विस्तार तथा विकास गर्ने र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम समेत प्रमुख प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्