१४ जेठ २०७५, इटहरी
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याउन लगेको नयाँ बजेटले सञ्चार माध्यमलाई समेत समेट्ने बताएका छन् । जनता टेलिभिजनको प्रदेश १ कार्यालयको उद्घाटन गर्दै राईले सो कुरा बताएका हुन् ।
सञ्चार क्षेत्र राज्य कै चौथो अंग भएकाले त्यसको विकासमा प्रदेश सरकार गम्भीर भएको राईको भनाई छ । ‘सञ्चार क्षेत्र छोटो समयमा विकास भएको क्षेत्र हो’ राईले भने ‘जनतालाई सू–सूचित बनाउन यसको ठुलो भूमिका छ, त्यसैले सञ्चारमैत्री बजेट सरकारले ल्याउँछ ।’
राईले प्रदेश १ सम्पूर्ण स्रोत र साधनले भरिपूर्ण रहेको बताउँदै कृषी र पर्यटन प्रदेशको मुख्य आम्दानीको स्रोत बन्न सक्ने भएकाले सञ्चार माध्यमले ती क्षेत्रलाई जोड दिएर कार्यक्रम बनाउन सुझाब दिएका छन् ।
सञ्चार माध्यम धेरै खुलेको तर सबै सञ्चार माध्यम सरकारको सहयात्रीको रुपमा विकासको साझेदार नबनेको राईको गुनासो छ । सञ्चार माध्यमले प्रदेश प्रतिनिधी र प्रदेश कार्यालय खोलेर संघीयता कार्यान्वयन नै हुदैन भन्दै शंका गर्नेलाई चुनौति दिएको राईको भनाई छ ।
टेलिभिजनका अध्यक्ष डा. विजय पौडेलले जनताको दुःख पिडालाईमा साथ दिदै जनताका आवाज वुलन्द गर्न स्थापित गरिएको टेलिभिजन १० महिनामै प्रदेश नम्वर १ मा कार्यालय खोल्न सफल भएको जानकारी दिए । बिगत ७ महिना देखि नियमित प्रसारणमा गएको जनता टेलिभिजनले आफ्नो तेस्रो प्रदेश कार्यालयको रुपमा इटहरीमा कार्यालय सञ्चालनमा ल्याएको हो ।