१५ जेठ २०७५, काठमाडौँ
नेपाली क्रिकेटको शुरुवात राणाकालीन समयमा भएको पाईन्छ । जंगबहादुरले स्थापना गरेको बेलायती सम्बन्धपछि राणा परिवारका सदस्यहरु उच्च शिक्षाको लागि बेलायत जान थाले । उच्च शिक्षा लिएर सन् १९२० को दशकमा बेलायतबाट फर्केका राणा परिवारका सदस्यहरुले नेपालमा क्रिकेटको शुरुवात गरेको देखिन्छ । क्रिकेटको विकासक्रमसँगै यसको विस्तार र व्यवस्थापनको लागि सन् १९४६ मा नेपाल क्रिकेट संघको स्थापना गरिएको थियो ।
जहानिया राणा शासनको अन्त्यपछि सन् १९५१ मा क्रिकेट आम नागरिकको लागि खुल्ला गरियो । क्रिकेट नागरिकको खेल भए सँगै यसलाई नेपालको राष्ट्रिय खेलमा समावेश समेत गरियो । यद्यपी सन् १९८० को दशकसम्म उपत्यका भित्रै सिमित क्रिकेट १९९० को दशकमा देशभर फैलियो । छिमेकी राष्ट्र भारत विश्वको सबैभन्दा बढी खेल विजेता र सचिन तेन्दुलकर जस्ता विश्वका उत्कृष्ट खेलाडी उत्पादन गर्ने देशको प्रभाव नेपालमा नपरी रहन सकेन् ।
क्रिकेटको विस्तारसँगै यसको लोकप्रियता पनि बढ्दै गयो । पारिवारीक घरानामा सिमित खेलले नागरिकलाई समेत छोएपछि देशव्यापी प्रतियोगिताहरु हुन थाल्यो । राष्ट्रिय प्रतियोगिताहरुमा लोकप्रिय क्रिकेट नेपाललाई खेल जगतमा विश्वाव्यापी चिनाउने सशक्त माध्यम बन्यो । युवा अवस्थाको नेपाली क्रिकेटले अन्तराष्ट्रिय सफलतासँगै नेपाली क्रिकेट व्यवसायिक रुपमा अघि बढिरहेको छ ।
नेपालले विश्व लिग खेलेको तालिका
२००८ डिभिजन फाइभ तेश्रो स्थान
२०१० डिभिजन फाइभ बिजेता
२०१० डिभिजन फोर तेश्रो स्थान
२०१२ डिभिजन फोर बिजेता
२०१३ डिभिजन थ्री बिजेता
२०१४ डिभिजन टु ९औ स्थान
२०१४ डिभिजन थ्री बिजेता
नेपाली क्रिकेट टिमलाई सन् २०१४ देखि आइसिसीले ट्वान्टी–ट्वान्टी मान्यता दियो । सन् २०१८ मार्च १५ देखि विश्वकप छनौट प्रतियोगिताको पहिलो प्लेअप खेल जितसँगै एकदिवसीय अन्तराष्ट्रिय खेल साथै ट्वान्टी–ट्वान्टीको मान्यता प्राप्त गर्याे । १५ मार्च २०१८ मा गरेको उत्कृष्ट प्रदर्शनको कारणले नेपालले पहिलो पटक अन्तराष्ट्रिय एकदिवसीय (ओडि आई) स्टाट्स पाएको हो । पछिल्लो समय नेपाली क्रिकेट लोकप्रियताको शिखरमा चढ्ने प्रयास गर्दैछ । अन्तराष्ट्रिय क्रिकेट संघले नेपाल क्रिकेट संघ (CAN) लाई आन्तरिक विवाद र राजनैतिक हस्तक्षेपको कारण निलम्बन गरेपछि नेपाल क्रिकेट अस्तव्यस्त भएको छ । नेपाल क्रिकेट खेल्ने यस्तो एक मात्र एसोसिएट राष्ट्र हो जहाँ सबै भन्दा बढी क्रिकेट समर्थक छन् र नेपाल त्यस्तो देश पनि हो जो सँग एउटा अन्तराष्ट्रिय खेल खेल्ने रङ्गशाला छैन ।
भर्खरै सम्पन्न भएको विश्वको सबै भन्दा महंगो र प्रतिष्ठित खेल आइपिएलमा १७ वर्षिय नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको उपस्थितीले विश्व क्रिकेट जगतमा एउटा तरङ्ग ल्याएको छ । सन्दीप ईतिहासकै पहिलो नेपाली खेलाडी बने जस्ले आइपिएल जस्तो प्रतिष्ठीत खेलमा खेल्ने अवसर पाए र आफुलाई अब्बल सावित गरे । उनलाई डेल्ली डियरडेभिल्सले ३ वर्षका लागि अनुबन्धित गरेको छ । नेपाल भ्रमणका क्रममा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत उनको खुलेर पशंसा गरेका थिए । कमजोर भौतिक संरचना, स्रोत साधनको अभाव र नेपाल क्रिकेट संघ निलम्बनका बाबजुत पनि नेपाली युवाले त्यो ठाउँमा पुगेर उत्कृष्ट प्रदर्शन गर्नु भनेको तीन करोड नेपालीलाई गौरवान्वित बनाउनु हो । विश्वका उत्कृष्ठ खेलाडी अनुवन्धित भएको इन्डियन प्रिमियर लिगमा आफ्नो छाप छोड्न सफल हुनु नै ठुलो उपलब्धि हो । सन्दीप मात्र हैन भविष्यमा अरु पनि नेपाली खेलाडीको लागि ढोका खुलेको छ । उनी युवाहरुको प्रेरणा बनेका छन् । इच्छा शक्ति भयो भने सबै कुराको सम्भावना छ भन्ने कुरा सन्दीप लामिछानेको २ वर्षे यात्राले देखाउछ । उत्कृष्ट प्रदर्शनसँगै आइपिएलमा उनको रेट तीन करोड पुगेको छ । आशा गरौं सन्दीप लामिछाने जस्ता धेरै युवाहरुलाई भविष्यमा अन्तराष्ट्रिय खेलहरुमा देख्न पाउनेछौ ।