१६ जेठ २०७५, काठमाडौँ
भर्खरै इन्डियन प्रिमियर लिग आईपीएल खेलेर नेपाल फर्किएका सन्दीप लामिछाने वेष्ट इण्डिजविरुद्ध टी ट्वान्टि क्रिकेटको लागि आईसीसी ‘वल्र्ड ११ ’ मा परेका छन् । आफूले अवसर पाए त्यसमा पनि राम्रो प्रदर्शन गर्ने उनले बताएका छन् ।
आइपीएल खेलपश्चात नेपाल आएका सन्दीपले त्यहाँ धेरै कुरा सिकेको बताउछन् । आफ्नो तर्फबाट खेल देखाउने र आफूले आफैमा विश्वास राखेर अघि बढ्दा सफलता मिल्दै जाने उनको विश्वास रहेको छ । सन्दीपको टिममा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, शोयब मल्लिक, हार्दिक पाण्डेया, थिशारा परेरा, लुक रोन्ची जस्ता खेलाडी रहेका छन् भने कप्तानमा इयान मोर्गान रहेका छन् ।
आईपीएल र विश्व ११ बीचमा धेरै फरक भए पनि मैदानमा हुने खेलमा कतै पनि भिन्नता नहुने र आफूले पाएको अवसरलाई सक्दो राम्रो गर्ने उनले सुनाए । देशका लागि खेल्दा गर्व लाग्ने र केही दवाव सिर्जना हुने उनी बताउछन् ।
बंगलादेशका सकिल अल हसनले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि सन्दीपले विश्व ११ मा मौका पाएका हुन् । उनका लागि यो ऐतिहासिक खेल रहनेछ ।
खेल ३१ मेमा बेलायतको लर्डसमा हुनेछ । आफ्नो नयाँ अनुभवले क्रिकेटमा अझ राम्रो गर्दै अघि बढ्न सहयोग गरेको उनले बताए ।
वेस्ट इन्डिज टी ट्वान्टि विश्व विजेता देश हो । यो खेल वेस्ट इन्डिजको क्यारेबियनमा गत वर्षको आँधीले जिर्ण बनेको स्टेडियम पुनः निर्माणका लागि हुन लागेको हो ।