१८ जेठ २०७५, काठमाडौँ
एउटा बौलाहा मान्छे हाम्रो बस्ती वरपर भौंतारिएर हिंडिरहेको देखिन्छ। एउटा पोको च्यापेको छ अनि साँझ परेपछि त्यो पोकोलाई छातीमा लगाएर बाटोको किनारामा सुत्ने गर्दछ। हरेक दिन साँझ म हजूरआमालाई सोध्ने गर्थेँ त्यो को हो भनेर। तर उहाँ सँधैभरि भो त्यसको कुरा नगर भनेर टार्नु हुन्थ्यो। एकदिन साँझ ऊ बाटामा बसेर रोइरहेको थियो। उसको रुवाइले बस्ती बडो मनहुस र दुःखित प्रतीत हुन्थ्यो। मलाई नरमाइलो लागिरह्यो। घर फर्किएर हजूरआमालाई मैले फेरि सोधेँ।
को हो त्यो मान्छे ? ऊ त रोइरहेको छ।
ए आज डिसेम्बर–५ हो नि त ! वहाँले स्वभाविकता प्रकट गर्नुभयो। मेरो जिद्दीसामु वहाँको केही लागेन र वहाँले त्यो मान्छेको कहानी भन्न थाल्नु भयो। मैले स्पष्ट अनुभव गरेको थिएँ बोल्न थाल्दा वहाँ बडो दुःखित देखिनु भयो। वहाँले लामो सुस्केरा हालेर शब्दहरुको उच्चारण गर्न थाल्नु भयो, मानौँ ती शब्दहरुले मन भित्र पीडा उब्जाइरहेछन्।
ऊ अदालतको ढोकाबाट बाहिर आयो। अदालतलाई फर्केर हेर्यो। भीडले अझै उसलाई पच्छ्याइरहेको थियो। सानी छोरीको हात समातेर ऊ अगाडि बढ्यो। सडक पनि गाडीहरु र तिनले उडाएका प्रदूषित धुवाँले बडो विकृत र कुरुपझै प्रतीत हुन्थ्यो। सडकका पेटीहरुमा हिँड्ने मान्छेहरु मुख थुनेर हिँडिरहेका देखिन्थे।
उसभित्र थुप्रै उत्पीडनहरु छन्। अदालतको केश जितेर उसले ठीक गर्यो गरेन कसैलाई थाहा छैन। त्यो केश जितेर ऊ खुसीभन्दा बढी दुःखी भएको अनुभूति गर्छ आफैभित्र। सानी छोरीलाई उसकी आमाबाट छुटाएर उसले ठीक गरेन सायद। मन उसको व्याकुल बनेर उठेको छ। छोरीको अनुहार हेर्छ। अनि उस भित्रको पीडाबोध गर्ने कोशिस गर्छ। ऊ टेम्पोमा बसेर घरतिर लाग्यो। उसले छोरीलाई सम्हालेर काखमा राखेको छ। मान्छेहरुको कर्कस गफशैली र खलाँसीको पेसेन्जर खोज्ने उँचो फडकारले टेम्पोको चढाई रोचक बन्न सकेन। ऊ आफ्नो स्टेशन मानभवनमा ओर्लियो र छोरीलाई डोर्याउँदै आफ्नो घरतफ लाग्यो। घर पनि उसको एक प्रकारले निरस लाग्दछ। घर थियो र ऊ थियो। घर र ऊबीचको सम्बन्ध एउटा औपचारिकतामा छ।
जब उसकी श्रीमतीले उसलाई छोडेर अर्कोसँग जीवनगाँठो बाँधी ऊ बिल्कूल एक्लो भयो। उसले आफूसँग उसकी अत्यन्त प्रिय छोरीलाई पनि लिएर गई। उसले परिस्थितिको बाध्यतालाई बुझेको थियो। उसले आफनो यथार्थलाई एक प्रकारले स्वीकारेको थियो र अपनाएको थियो। एक दिन जब उसकी श्रीमतीको नयाँ पतिले उसकी छोरीप्रति राम्रो व्यवहार गर्दैन भन्ने सुन्यो ऊ अत्यन्त ब्याकूल भयो। अनि छोरीको संरक्षकत्व ग्रहण गर्न पाउने अख्तियारीका लागि अदालतको ढोका घच्घच्यायो। स्वाभाविक रुपमा अदालतको प्रक्रिया अघि बढ्यो। उसले महिनौंदेखि छोरीलाई भुलाउन सकेको पनि थिएन। अदालतमा जब न्यायाधीशले छोरीलाई “नानी तिमी आमासँग बस्छ्यौ कि बुबासँग ?” भनेर सोध्दा छोरीले औंलाले उसलाई देखाएकी थिइ र भयो पनि त्यही। उसले आफ्नो छोरीको संरक्षकत्व ग्रहण गर्ने अख्तियारी पायो।
ऊ खुसी पनि छ तर बच्चाहरुलाई आमाको बढी खाँचो हुन्छ भन्ने यथार्थलाई उसले भुल्न सकेन। उसको मनभित्रबाट एकप्रकारको आवाज उठ्ने गर्दछ। कतै छोरीलाई आमाबाट छुटाएर उसले पाप त गरेन ? तर ऊ दृढ मान्छे हो। जीवन र जटिलतालाई भोगेको र बुझेको मान्छे। उसले एक्लै बच्चाको बावु मात्रै हैन आमाको भूमिका पनि निर्वाह गर्नुपर्दछ। उसले आफ्नो कर्तव्यलाई पुनर्परिभाषित गर्नुपर्दछ र कर्तव्यको गहिराईलाई समेट्न सक्नु पर्दछ भन्ने बुझेको थियो।
ऊ खुसी पनि छ तर बच्चाहरुलाई आमाको बढी खाँचो हुन्छ भन्ने यथार्थलाई उसले भुल्न सकेन। उसको मनभित्रबाट एकप्रकारको आवाज उठ्ने गर्दछ। कतै छोरीलाई आमाबाट छुटाएर उसले पाप त गरेन ? तर ऊ दृढ मान्छे हो। जीवन र जटिलतालाई भोगेको र बुझेको मान्छे। उसले एक्लै बच्चाको बावु मात्रै हैन आमाको भूमिका पनि निर्वाह गर्नुपर्दछ। उसले आफ्नो कर्तव्यलाई पुनर्परिभाषित गर्नुपर्दछ र कर्तव्यको गहिराईलाई समेट्न सक्नु पर्दछ भन्ने बुझेको थियो।
अदालतबाट छोरीलाई लिएर ऊ एउटा अन्तरालपछि घर फर्कियो। घर भित्रको नीरबतालाई उसकी छोरीले पन्छाउने छ र घर गतिशील बन्नेछ। उसले विश्वास बटुलेको थियो। छोरीलाई एउटा असल नागरिक बनाउने अठोट छ। उसको स्वाभाविक जीवन नाफा पैसामा बढी समर्पित गराउने जीवनशैलीमा परिवर्तनको खाँचो छ। त्यो उसले राम्ररी बुझेको छ।
छोरीलाई किनेर राखेको थुप्रै खेलौना र कपडाहरु राखिएको कोठामा लिएर गयो।
“यो सबै नानुको हो।” उसले अभिव्यक्ति जाहेर गर्यो।
“थ्याङ्क्यू बाबा।” छोरीले सहज उत्तर दिई र एक प्रकारले ऊ आफ्नो बावुको संरक्षकत्वमा आउन पाएकोमा खुसी छे। छोरीको कोमल अनुहारमा आमालाई छाड्नुको कुनै पीडाको प्रतिविम्ब छैन र ऊ यसमा खुसी छ। ऊ शब्दको भन्दा बढी हाउभाउको भाषा बोल्ने भएकी छे।
उसको एकांकी जीवनमा उसकी छोरी आएकी छे। उसको घरको निर्जन शान्तिमा अलिकति हलचल आएको छ। उसको उमेर र प्रकृति अनुकूल उसको छोरीमा त्यो चञ्चलता, त्यो कैतूहल र त्यो अस्तव्यस्तता छैन। ऊ अस्वाभाविक रुपमा गम्भीर, कम बोल्ने र अत्यन्त कम माग राख्ने सामान्य बालसुलभता भन्दा फरक छे। कक्षा दुईमा पढ्ने विद्यार्थी भएर पनि ऊ बढी समझदार देखिन्छे। ऊ सोच्छ सायद बाबु र आमाको पारपाचुके र त्यसपछि उसले भोगेका पीडा र दर्दहरुले त्यो बच्चालाई अन्य बच्चाहरु भन्दा बढी समझदार र अरुको दुःख बुझ्नसक्ने बनाएको छ।
दिन र महिनाहरु बित्दै जान थाल्दा उसले छोरीसँग राम्रो मित्रता स्थापित गर्यो। ऊ बच्चाको बाबु मात्र नभएर उसको एउटा असल साथी बन्न सफल भएको थियो। भलै त्यसका लागि उसले थुप्रै व्यक्तिगत र व्यावसायिक सम्झौताहरु गर्नु परेको होस्। उसले पैसा र व्यावसायिक उन्नतिभन्दा पनि आफ्नी छोरीप्रतिको माया निकटता र समयमा बढी लगानी गर्न थाल्यो र यसबाट उसलाई प्रशस्त खुशी मिलेको थियो। ऊ सम्पन्न मान्छे हो। छोरीलाई नुहाउने, कपडा लगाउने र खुवाउने सम्मको काम आफै गर्दथ्यो, किनकि त्यो छोरी भित्र उसको आफ्नो खुसी अडिएको थियो र जीवन अटाएको थियो।
उसको बाँच्ने आधार एवं जीवनको उद्देश्य पनि त्यही छोरी भएकी छ। उसले जीवनमा थुप्रै उतारचढावहरु बेहोरेको छ। उसले व्यवसायिक सफलता थुप्रै मूल्यहरु चुकाएर पाएको छ। उसलाई एउटा विस्मात्. छ। उसले आफ्नी श्रीमतीको विश्वास गुमायो, जसलाई अपनाउँदा पुरै परिवारलाई त्यागेर ऊ अलग्गिएको थियो। जीवनमा ऊ सफल भन्दा बढी असफल भएको छ। शायद, उसको जीवन सफलता र असफलताको सम्मिश्रित प्रयोग हो। आम मान्छेहरु भन्दा ऊ तथापि फरक छ।
उसले आफ्नो मायां र विश्वासलाई महत्व दियो। उसले आफ्नो अन्तरको आवाजलाई भन्दा पनि तत्कालीन आवेगलाई अपनाएको थियो। आफ्ना सम्पूर्ण नातालाई त्यागेर उसले विवाह गरेको थियो ।ऊ अनायास एक्लो भयो। ऊ घरको न घाटको भयो। ऊ फर्किएर आफूले गरेका गल्तीहरुलाई सुधारेर अगाडि बढ्न सक्दैनथ्यो र गरेका गल्तीहरुको लागि आफैलाई सजाय दिन पनि चाहँदैनथ्यो। यी दुःखहरुको बीचमा कदाचित् परिस्थिति यसरी उसको पक्षमा आयो कि उसकी छोरी उसकहाँ फर्किएर आई र उसको जीवनको बाँच्नुको एउटा मक्सदको अभ्युदय भयो।
ऊ आफूले विगतमा गरेका गल्तीहरुबाट सिकेर अगाडि बढ्न चाहन्थ्यो र जीवनका आफ्ना प्राथमिकताहरु छन्। छोरी उसको सबै प्राथमिकता र उद्देश्यहरुमा प्रथम कोटीमा पर्दछे।
छोरी पढाइमा तेज छ। विद्यालयबाट सँधैजसो राम्रो परिणाम र सन्देशहरु आउने गर्दछ। ऊ छोरीलाई धेरै समय दिन्छ। विद्यालय पुर्याउन जान्छ र लिन पनि आफै जान्छ। कार्यालयको व्यस्तता र मिटिङहरु भन्दा पनि उसको यो रुटीन बढी महत्वको रहेको छ। अभिभावक दिवसमा ऊ सँधै पुगेको हुन्छ। विद्यालयका हरेक क्रियाकलापहरुमा छोरीको हौसला बढाउन ऊ सँधै पुगको हुन्छ। ऊ एउटा असल बाबुको प्रतीक बनेको छ, छोरीको पुरै विद्यालयमा।
बाहिर जाँदा अनि छुट्टिमा निस्कँदा उनीहरु कहिले पनि उसकी आमाको बारेमा कुरा गर्दैनन्। जानेरै त्यो प्रसङ्ग निकाल्दैन कतै आमाको यादले छोरी दुःखी होली भनेर ऊ एकदमै सचेत बनेको हुन्छ। एकदिन अनायास यस्तो मोड आइपुग्यो। उनीहरु जावलाखेलको चिडियाखानामा जान हिँडिरहेका थिए। उसकी पूर्व श्रीमतीसँग उनीहरुको जम्काभेट भयो। उसको अर्को बच्चा भैसकेछ। उनीहरु दुवैजना आफ्नो बच्चा लिएर त्यहाँ घुम्न आएका थिए। शायद उनीहरु बीच केही बोलचाल भएन, तर त्यो भेटले उसकी छोरीको मनमा कुनै प्रकारको चोट पुग्यो। उनीहरुभित्र कुण्ठा बढेर गयो अनि उनीहरु फर्किएर घरतफ लागे। बाटोमा कुनै बोलचाल भएन।
“नानु तिमीलाई केही नराम्रो लाग्यो ?” उसले छोरीलाई सोध्यो।
“छोरीले त्यस्तो केही छैन बाबा” भनेर जवाफ दिई र स्वाभाविक रुपमा त्यो घटनाले छोरीको मनमा चोट पुगेको थियो। आफूलाई जन्म दिने आमामा देखिएको पराईपनले त्यो बच्चीलाई दुःखित बनाएको थियो स्वभाविक रुपमा।
उसले यो प्रसङ्गलाई त्यहीँ छाड्न चाह्यो तर त्यो सम्भव भएन। छोरी पराइपन बोकेकी आमालाई कसैगरी नभेटियोस् भनेर बाहिर जान चाहँदैन थी। बालिकाका मनमा एक प्रकारको दुःखले घर बनाएको जस्तो लाग्थ्यो। छोरीको नैराश्यतालाई टाढा बनाउन उसले छोरीलाई जाडो बिदामा एक महिना थाइल्याण्ड लिएर गयो। महिना बित्यो। उनीहरु घर फर्किए। तर छोरीको मानसपटलबाट त्यो दुःख शायद मेटाउन सकेन उसले।
एकदिन साँझ आकाशमा ताराहरु टल्पलाइरहेका थिए। उसले कौसीमा गएर हेर्यो। ईश्वरलाई आकाशमा ताराहरुको बीचमा पहिल्याउन खोज्यो। तर उसले केही भेटेन। उसले आफूलाई माफ गर्न सकेन। छोरीको उदासीनता र त्यति कम उमेरको उसको अप्रत्याशित पीडाले ऊ द्रवित र दुःखित रहने गर्दथ्यो। उसले ईश्वरको सहारा खोजेको बुझिन्थ्यो।
एकदिन साँझ आकाशमा ताराहरु टल्पलाइरहेका थिए। उसले कौसीमा गएर हेर्यो। ईश्वरलाई आकाशमा ताराहरुको बीचमा पहिल्याउन खोज्यो। तर उसले केही भेटेन। उसले आफूलाई माफ गर्न सकेन। छोरीको उदासीनता र त्यति कम उमेरको उसको अप्रत्याशित पीडाले ऊ द्रवित र दुःखित रहने गर्दथ्यो। उसले ईश्वरको सहारा खोजेको बुझिन्थ्यो।
“बाबा मैले गर्दा हजूरलाई दुःख भएको छ ?” छोरीले उसको पछाडि आएर उसलाई स्पर्श गर्दै सोधेकी थिई।
“तिम्रो दुःख म हेर्न सक्दिन नानु।” उसले स्वाभाविक रुपमा भनेको थियो।
“मेरो दुःख मेटाउने एउटा उपाय छ बाबा।” उसकी छोरीको भनाईबाट उ अत्यन्त उत्साहित भएको थियो। “भन म के गर्न सक्छु त्यसमा ?” उसले प्रश्न गरेको थियो।
“मलाई आमा ल्याइदिनुहोस् बाबा।” उसको आग्रहले ऊ किंकर्तव्यविमूढ बनेको थियो।
“यो त असम्भव कुरा भो नानु। तिम्री आमा त अब फर्काउन सकिँदैन। ऊ त अर्कैकी भैसकेकी छे।”
बिचैमा कुरा काट्दै छोरीले भनेकी थिइ “हैन बाबा मैले त्यो भनेको हैन।”
“अनि ?”
“तपाई विवाह गर्नुहोस्। मलाई तपाईंको खुसी हेर्ने इच्छा छ।” छोरीको आग्रहले अप्ठेरो अवस्था उत्पन्न भएको थियो।
“अब म विवाह गर्दिन नानु। म यसरी नै एकदमै खुसी छु।” उसले जवाफ दिएको थियो।
“हैन बाबा प्लिज।” उसको हठ बढेको देखेर ऊ छोरीसँग रिसाएको थियो।
“नानु तिमी चुप बस। तिमी आफ्नो उमेरभन्दा बढी सोच्ने हुनु आवश्यक छैन।”
ऊ त्यहाँबाट उठेर कोठाभित्र गएको थियो। कोठाभित्र आएर छोरीले माफी मागेकी थिई। त्यस दिनबाट छोरीले त्यो प्रसंग कहिल्यै उठाइन। एउटा सिमानाभित्र उनीहरु बाँधिएका थिए। एउटा परिवेशभित्र उनीहरु सीमित बनेका थिए र त्यो सानो परिवेश भित्र थुप्रै खुसी र भविष्यप्रतिको विश्वास अनि प्रतिवद्धता अटाएको थियो।
छोरीको कक्षा ३ को अन्तिम परीक्षा सकिएको थियो। उनीहरु जाडोको बिदामा बेंगलोर जाने तयारीमा थिए। काठमाण्डौंमा त्यो वर्ष धुमधाम पानी पर्यो। चिसो अत्यन्त बढेर गयो। उपत्यकाको डाँडा वरपर हिउँ परेर सेताम्मे भएको थियो। बाहिरको हावा एक प्रकारले कठ्याङ्ग्रिने चिसो बोकेर बहन थालेको थियो। बाटोमा मान्छेहरु बाक्ला लुगाहरुमा गुटमुटिएर हिंडिरहेका देखिन्थे। बाटोहरु पनि प्रायः सुनसान लाग्दथ्यो। अत्यावश्यक काम बाहेकका मान्छेहरु घरबाट निस्किएका छैनन् जस्तो लाग्दथ्यो। उसको छोरीलाई सामान्य ज्वरो आएको थियो। त्यसैले उनीहरुले यस मिनपचासमा घुम्न जाने कार्यक्रम स्थगित गर्ने निर्णय गरेका थिए। ऊ छोरीको छेउमा दिनभर बस्ने गर्दथ्यो र आवश्यक हेरचाहमा लागि रहन्थ्यो। उसले आफ्नी छोरीभित्र सम्पूर्ण खुसी पाउन सक्दथ्यो। परिवारलाई त्यागेको मान्छे अनि श्रीमतीले छाडेको मान्छे। जीवन प्यारी सानी छोरीलाई अर्पण गर्न चाहन्थ्यो। जीवनको अर्थ र खुसीको तरङ्ग उसले आफ्नी सानी छोरीको आँखामा देखेको थियो। उसले जीवनबाट कति पायो र कति गुमायों त्यो आफैमा अव्यक्त जवाफ थियो ऊ सिङ्गो आफै। जीवनका अनगिन्ती उल्झनहरुलाई उसले थाँति राख्न सकेको थियो। एक प्रकारले निरुद्देश्यपूर्ण वितेका समयहरुबाट अलिकति शिक्षा पाएको थियो आउँदा दिनहरुका लागि।
हजूरआमाले लामो स्वास लिनु भयो। म अलि बेचैन भएँ। किन कहानीले नयाँ मोड लिँदैछ ? मेरो प्रश्नको जवाफमा वहाँले मुन्टो हल्लाउनु भयो। अनि वहाँ अघि बढ्नु भयो। मेरो स्वास पनि बढेको छ, त्यो बहुलासँग यो कहानी कसरी कतातिर गाँसिन्छ भनेर।
सहरमा भारत बिहारबाट आएका जादूगरहरुले जादू देखाउने कार्यक्रम चलाएका थिए। चिसोमा पनि मान्छेहरु जादू हेर्न लाम लागेर जाने गर्दछे। उसले पनि छोरीलाई ज्वरोबाट ठीक भएपछि जादू देखाउन लैजाने बचन दिएको थियो। त्यो डिसेम्बर महिनाको ५ तारिख सोमबार थियो र उसको जन्म दिन परेको थियो। बर्षौदेखि उसलाई आफ्नो जन्मदिनको याद पनि रहँदैनथ्यो। ऊ सामान्य रुपमा सोमबारको दैनिकीमा व्यस्त थियो। दिउँसो एकचोटी अफिस जानु पर्ने भएकोले दिउँसोको खाना बनाएर छोरीलाई औषधि खुवाएर ऊ छिट्टै आउने गरेर अफिस गयो। अफिसका पत्रहरु र बाँकी कामहरु सक्नेतफ ऊ केन्द्रित भयो। त्यत्तिकैमा बाहिर घनघोर बर्षात् शुरु भयो र आकाशबाट ठूल्ठूला असिनाहरु खस्न थाले। सहर सुनसान भयो। सडकमा गाडी पनि चल्न नसक्ने अवस्था भयो। उसलाई छोरीको चिन्ताले सताउन थाल्यो। उसलाई चिसोले छोयो होला। ज्वरो पूरा ठीक भएको छैन। ऊ मनमनै बेचैन भएर उठ्यो।
ऊ हतारिएर घरतफ लाग्यो। अन्दाजी ५ बजेको थियो। ऊ घर पुग्यो। उसको छोरी घरमा थिइनन्। उसले छोरीलाई घरभरि खोज्यो अनि बोलायो –“ नानु ……. नानु …….।”
छिमेकीलाई सोध्दा उसलाई थाहा भयो छोरी असिना पानी आउनु भन्दा आधा घण्टा अगाडि चप्पल लगाएर बजारतफ गएकी थिइ। ऊ बजार चोकमा पुग्यो। पसल –पसल चहार्यो छोरीलाई भेटेन। ऊ निथु्रक्क र लखतरान परेर घर फर्कियो। छोरीको पत्तो छैन। उसको आँखाबाट आँसुको धारा बगिरहेको छ। साँझ पर्न थालेको थियो। असिना झरी थामिएको छैन। ढोका उघारेको मन्द आवाज सुन्यो उसले। ऊ तल झर्यो। उसको छोरी निथु्रक्क भिजेर काँप्दै भित्र पसेकी छे। ऊ करायो “नानु बिरामी मान्छे कहाँ गएकी ?” उसले केही पोको च्यापेर ल्याएकी छे। ऊ नजिक गयो।
“कहाँ ? कहाँ गएकी तिमी ?” उसको प्रश्नमा आवेग छ अनि आवाजमा असीम पीडा। एउटा राम्ररी प्याक गरिएको पोको छ। ऊ नजिक आएर छोरीले उसलाई दिँदै बोली “बाबा ! ह्यापी बर्थ डे टू यू।”
ऊ झसङ्ग भयो। आज डिसेम्बर ५ तारीख।
“नानु किन यस्तो झरीमा ?” ऊ बोल्न सकेन। आँखाबाट फेरि आँसु झर्न थाल्यो दुःखको आँसु। पीडाको आँसु। उसकी छोरीको मायाको आँसु। अनि समर्पणको आँसु। छोरीको भिजेको कपडा खोलिदियो। छोरीको ज्वरो बढेको छ। घाँटीमा केही समस्या छ। उसलाई चिसोले नराम्रो असर गरेको छ। छोरीलाई न्यानो बनाएर औषधि खुवायो। छोरीको श्वास–प्रश्वासमा गतिरोध आएको छ, उसको आँखामा आँसु थामिन सकेन।
“नानु म तिमीसँग धेरै नै रिसाएको छु। यस्तो बेलामा तिमी बाहिर जानु हुँदैनथ्यो।” उसले आफ्नो बेखुसी जाहेर गर्यो।
“म जाँदा त ठीकै थियो बाबा, बीच बाटोमा पो असिनाले भेट्टायो।” उसकी छोरी बिस्तारै बुदबुदाई। “एउटा सानो उपहार किन्ने इच्छा मात्र थियो बाबा। धेरै वर्षहरु पछिको यो जन्मदिन बाबाको। डिसेम्बर ५ लाई म कसरी भुल्नसक्छु ? मेरो खुसी हजूर नै हो बाबा।” छोरीको आवाज कमजोर सुनिन्छ।
छोरी अत्यन्त कमजोर देखिएकी छे। ऊ बेचैन छ। बाहिर फेरि घनघोर बर्षा शुरु भएको छ। ज्वरो बढेको छ। उसले आफूलाई अत्यन्त कमजोर महसुस गर्यो। डाक्टरले सिटामोल दिनु र न्यानो राख्नु अनि भोलि बिहान लिएर आउनु भनेर सल्लाह दियो।
त्यो रात ज्यादै कठोर बनेर उसको जीवनमा आयो। उसकी अत्यन्त प्रिय छोरी बिहानीपख नै चिसो भैसकेकी थिई। उसको काखमा उसकी छोरी निर्जीव बनिसकेकी थिइ।
सबैले भन्छन् त्यस दिनबाट उसले आफ्नो मनस्थिति गुमायो। अनि छोरीले दिएको त्यो उपहार बोकेर छोरी फर्केर आउँछे कि भनेर हरेक वर्षको डिसेम्बर ५ तारीखलाई पर्खिने गर्दछ ऊ। मान्छेहरु भन्छन् उसले त्यो उपहार अहिलेसम्म खोलेको पनि छैन रे। कसैलाई थाहा छैन। उसलाई उसकी छोरीले जन्मोत्सवको दिन के त्यस्तो अन्तिम उपहार दिएर गई।
सबैले भन्छन् त्यस दिनबाट उसले आफ्नो मनस्थिति गुमायो। अनि छोरीले दिएको त्यो उपहार बोकेर छोरी फर्केर आउँछे कि भनेर हरेक वर्षको डिसेम्बर ५ तारीखलाई पर्खिने गर्दछ ऊ। मान्छेहरु भन्छन् उसले त्यो उपहार अहिलेसम्म खोलेको पनि छैन रे। कसैलाई थाहा छैन। उसलाई उसकी छोरीले जन्मोत्सवको दिन के त्यस्तो अन्तिम उपहार दिएर गई।
“अब रोक्नुहोस्।” म चिच्याएछु।
हजूरआमा टक्क रोकिनु भयो। वहाँको आँखामा आँसु टल्पलिएको थियो। मेरो मन गर्हौ भएर आयो। मलाई थाहै भएन मेरो आँखाबाट पनि आँसु झरिसकेछ। त्यो बहुलाप्रति मभित्र करुणा र सहानुभूति अटेसमटेस भरिएर आयो। अनि अस्तिमात्रै मान्छेहरुले यो बहुलालाई लघार भनेर ढुङ्गा हानेर लखेटेको दृष्य मेरो मानसपटलभरि उत्रिएर आयो। म बेचैन भएँ। मनभित्र थुप्रै प्रश्नहरु उब्जिएका छन् र उत्तरहरु छैनन्। यहाँका मानिसहरुले उसलाई मायाँ दिन सकेनन्। उसलाई पुनःस्थापना गर्नेतफ कसैले सोचेनन्। अनि सबैले उसलाई बहुला भनेर खेदो गर्छन्।
मलाई ती मान्छेहरु र उनीहरु भित्रको खोक्रो मानवता देखेर घृणा उत्पन्न भयो। साँझ झमक्क भैसकेको थियो र चिसो व्याप्त थियो, परिवेशमा। म घरबाट निस्किएँ। त्यो बहुला भनिने मान्छेलाई भेट्न मन आतुर भएको थियो। म सडकको छेउमा पुगेँ। सडकको बत्तिको प्रकाशले चिसो साँझलाई न्यानो बनाउन सकेको पनि थिएन। सडकको किनारामा रहेको लहरे पीपलको फेदमा पोको च्यापेर सुतेको छ ऊ। उसको रुवाई सुन्न सकिनँ मैले। म उसको नजिक पुगेँ र सोधेँ तपाईँलाई कस्तो छ ? ऊ बोलेन र चलमल पनि गरेन। केही समयपछि मैले फेरि प्रश्न दोहोर्याएँ। ऊ केही चलमलाएन। मैले उसलाई स्पर्श गरेँ र नाडी छामेँ। ऊ त मसिसकेको रहेछ। उसकी छोरीको उपहार भने उसको छातीमा नै च्यापिएको थियो।
मैले उसँगै मानवतालाई मर्दै गरेको अनुभूति गरेँ। जीवन र समय अनि सभ्यता निरीह बनेर चिसोमा कठ्याङग्रिइरहेको छ। बस् ! एउटा अध्याय त सकिएको छ, तर कति यस्ता अध्यायहरुको समाप्तिको पर्खाइमा यहाँका मान्छेहरु कुरिरहेका छन्।
( यो लेख / कथा पूर्व डीआईजी तथा संघीय सांसद नवराज सिलवालले २०७१ साल पुस १२ गते फेसबुकमा प्रकाशित गरेका थिए )