१९ जेठ २०७५, इटहरी
विद्यालयमा विद्यार्थी तोकिएको पोषाकको सट्टामा बिभिन्न देशका फुटवल प्लेयरका जर्सी लगाएर आउछन् भन्दा धेरैलाई अचम्म लाग्छ तर खेल जगतको महाकुम्भ बिश्वकप फुटबलको रौनक चढ्दै गर्दा इटहरीको पशुपति इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी भने आफूलाई मनपर्ने देश र खेलाडीको जर्सी लगाएर विद्यालय आउन थालेका छन् ।
बिश्वकप फुटबल शुरु हुन १ साता मात्र बाँकी रहँदा पूर्वका शहरमा खेलाडीका जर्सी बिक्रिमा त बृद्धि भएको छ नै सामाजिक सञ्जाल र चिया पसलमा तन्नेरीले आफुलाई मनपरेको खेलाडीका बयान गर्न भ्याईनभ्याई छ । युवा पुस्तामा देखिएको जोश बालबालिकामा समेत देखिएकोले विद्यालयमा विद्यार्थीको दैनिक पोषाकको सट्टा प्रत्येक शुक्रबार जर्सी लगाउन पाउने भएका हुन् ।
बाल मस्तिष्क काचो हुने र त्यसमा खेल क्षेत्र भर्न सके भोलिको दिनमा आजका बालबालिका खेलाडीको रुपमा खेल क्षेत्रमा आउन सक्ने भएकाले त्यस्तो व्यवस्था गरिएको सुनसरी प्याब्सनका अध्यक्ष तथा विद्यालयका प्रिन्सिपल सुमित थापाले बताए । त्यतिमात्र होईन स्कुल हातामै विश्वकपमा सहभागी हुने राष्ट्र र उनीहरुको झण्डा साथै जर्सी अकींत ब्यानर राखिएको छ । विद्यार्थीहरुलाई विश्वकप फुटबल खेलको इतिहास देखि यस पटकको खेल समेतलाई समेटेर जानकारी दिने उद्देश्यले उक्त व्यानर राखिएको स्कुलका प्रिन्सीपल सुमित थापाले बताए । यसले इटहरीमा बढ्दै गएको खेलकुद प्रतिको मोह र त्यस्ता सामाग्री राख्दा विद्यार्थीले राष्ट्रिय खेलाडी बन्ने उद्देश्य राख्न सक्ने थापाको तर्क छ ।
विद्यालयले विद्यार्थीको मनोभावना बुझेर यस्तो कदम चालेको हो, विद्यार्थीहरुले साप्ताहिक रुपमा तयार पार्ने भित्तेपत्रिकामा पनि विश्वकपको बिषयवस्तुहरु बिगत हप्ता देखी नै थालिसकेका छन् । विद्यालयले फुटबललाई केन्द्रीत गरेर फुलबल सम्वन्धी शिक्षालाई प्राथमिकता दिन थालेपछि विद्यार्थीहरुपनि उत्साहित बन्न थालेका छन् । विद्यालयहरुले फुटवल तथा अन्य खेलहरुलाई यसरी नै प्राथमिकतामा राखेर विद्यार्थीहरुलाई खेलमैत्री शिक्षा दिने हो भने भविष्यमा सबै खेलमा दक्ष खेलाडी उत्पादन हुने विद्यार्थीको भनाई छ । विद्यार्थी सुरज राई सन्दीप लामीछानेको उदाहरण दिदै खेल क्षेत्रमा लाग्न चाहाने विद्यार्थीलाई विद्यालय र अभिभावकले सानैदेखी त्यसमा उत्साहित गर्न सके नेपालमा सबै खेलमा सन्दीपको उदय हुने बताउछन् ।