२१ जेठ २०७५, काठमाडौँ
क्यानडामा यसै वर्षदेखि शुरु हुन लागेको टि–२० लिगमा नेपाली खेलाडी सन्दिप लामिछाने छनोट भएका छन् । यो खवरले नेपाली फ्यानहरु उत्साहित भएका छन् ।
सन्दिपले हालै आइपिएलमा दिल्ली डेयरडेभिल्स र विश्व ११ जस्ता प्रतिष्ठित टिमबाट खेलि सकेका छन् । सन्दिप ग्लोबल टि–२० जस्तो प्रतिष्ठित लिग खेल्न पाउनु नेपालको लागि गौरवको विषय हो ।
सन्दिप यो लिगमा मोन्ट्रेल टाइगर्स टिमबाट खेल्दैछन् । यो टिममा अन्तराष्ट्रिय क्रिकेटका चर्चित टि–२० बलरहरु वेष्ट इण्डिजका सुनील नारायण, दिनेश रामदिन, श्रीलंकाका लासिथ मालिंगा, थिसरा परेरा, दासुन शनाका, पाकिस्तानका मोहम्मद हफिज, जिम्बावेका सिकन्दर राजा, अफगानिस्तानका नजिबुल्लाह जादरान लगायत छन् ।
प्रतियोगितामा ६ टिम हुनेछन् । यीमध्ये एड्मोन्टन रोयल्स, मोन्ट्रेल टाइगर्स, टोरन्टो नेशनल्स, भ्याक्कोभर नाइट्स, विनिपेग हक्सले आफ्ना खेलाडीको सूची सार्वजनिक गरिसकेका छन् । छैटौं टिम वेष्ट इण्डिजको प्रतिनिधि टिम हुनेछ । यो टिमको भने खेलाडीको घोषणा भइसकेको छैन । यद्यपि यो टिममा सबै वेष्ट इण्डिजका खेलाडीहरु हुनेछन् । यी टिमहरुले खेलाडी र कोच घोषणा गरे पनि कप्तान भने घोषणा गरेका छैनन् ।
अर्को टिम एड्मोन्टन रोयल्सबाट पाकिस्तानका विष्फोटक अलराउण्डर शाहिद आफरिदीसँगै मोहम्मद इरफान, सोहेल तनवीर, अस्ट्रेलियाका क्रिस लिन, न्यूजिल्याण्डका लुक रोन्ची, दक्षिण अफ्रिकाका वेन प्रनिल लगायत छन् । टोरन्टो नेशनल्समा अस्ट्रेलियाका निलम्बित कप्तान स्टिभ स्मिथ, वेष्ट इण्डिजका किरन पोलार्ड, डरेन शमी, जोन्सन चाल्र्स, पाकिस्तानका कमरन अकमल, हुसैन तलत लगायत छन् ।
भेङकोभर नाइट्समा वेष्ट इण्डिजका विष्फोटक अलराउण्डरहरु क्रिस गेल, आन्द्रे रसेल इविन लेविस, न्यूजिल्याण्डका टिम साउदी, पाकिस्तानका फवाद अहमद, हङकङका बाबर हयात लगायत छन् । विनिपेग हक्समा वेष्ट इण्डिजका ड्वेन ब्राभो, लिन्डल सिमन्स, डरेन ब्राभो, अस्ट्रेलियाका निलम्बित उपकप्तान डेभिड वार्नर, दक्षिण अफ्रिकाका डेभिड मिलर लगायत छन् ।
खेलाडीहरुको सूची यस्तो रहेको छ :