प्रदेश १ को नीति कार्यक्रम : पर्यटन विकासका लागि पूर्वाधार निर्माण



२८ जेठ २०७५, बिराटनगर

प्रदेश १ सरकारले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘सबैभन्दा वेश, १ नम्बर प्रदेश’, ‘एक समूह, एक उत्पादन’ जस्ता आकर्षक नाराका साथ प्रदेश प्रमुख डा. गोबिन्द सुब्बाले आइतवार नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेश १ का सवै जिल्लालाई हवाई सम्पर्कमा जोड्ने र पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकता दिईएको छ । त्यस्तै बिभिन्न स्थानमा केवलकारको योजना अघि सारेको छ । त्यसका लागि सम्भाब्यता अध्यायनका लागि विशेष बजेट ल्याउने देखिएको छ ।

प्रदेश १ मा विमानस्थल नभएका सुनसरी, धनकुटा, उदयपुर लगायतका क्षेत्रमा विमानस्थलको सम्भाब्यता अध्ययन गरीने नीति तथा कार्यक्रममा समेटिएको छ । त्यस्तै विराटनगर एयरपोर्टबाट प्रदेशभित्रका सवै हवाई मैदानहरुमा उडान सेवा शुरु गराइने घोषणा गर्दै हेलिकप्टर तथा माउन्टेन फ्लाइटको सुरुवात गर्ने जनाएको छ । बिराटनगर विमानस्थल केन्द्रीय सरकारको बजेटमा समेत परेको योजना हो ।

त्यस्तै कार्यक्रमले बिभिन्न पर्यटकीय सर्कीट निर्माणको कुरालाई ध्यान दिएको छ । सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा फाप्लुबाट लुक्ला, नाम्चे हुँदै सगरमाथा अधार शिविरसम्म, फुङ्गलिङ्ग–पाथिभरा, धरान–भेडेटार, वाह्रविसे–सभापोखरी, जयरामघाट–हलेसी, वराहक्षेत्र–सूूर्यकुण्ड, अन्तुडाँडा–मंगलवारे र केरावारी–जेफाले स्थानमा केबलकार चलाउने साथै पर्यटकीय सर्कीट बनाउने उल्लेख गरीएको छ ।

त्यस्तै कृषि मल, बीउ, उपकरणमा अनुदान दिइने र ५ वर्ष भित्रमा कृषिजन्य वस्तुहरू फलफूल, माछा, दूध निर्यात गर्ने उल्लेख छ । यस्तै झापादेखि भाण्टाबारीसम्म आर्थिक करिडोर स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । कृषि क्षेत्रको व्यवसायीकरण गर्नका लागि निजी क्षेत्रलाई सँगै लिएर जाने उल्लेख गरिएको छ । निजी क्षेत्र, सहकारी र सरकारी तीनै क्षेत्रलाई एकीकृत ढंगले लगानी गर्ने र विकास गर्ने जनाईएको छ ।

प्रदेशमा आगामी १५ वर्षभित्रमा ४५ सय मेगावाट विद्युत् उत्पादन पनि आफैंले गर्ने उल्लेख छ । यस्तै पर्यटनको विकासका लागि सरकारले केबलकार तथा जल यातायातलाई पनि प्राथमिकतामा राखेको छ । पर्यटन क्षेत्रको विकासका लागि विशेष क्षेत्रहरूको प्राथमिककीकरण गरेर विकास गरिने कार्यक्रममा उल्लेख छ । यस्तै पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्ने, सन् २०१८ लाई पर्यटन अध्ययन वर्ष, सन् २०१९ लाई पर्यटन महोत्सव वर्ष र २०२० देखि २०२२ सम्मलाई पर्यटन वर्ष घोषणा गरिने उल्लेख छ । प्रदेश सरकारले आगामी ५ वर्षभित्रमा प्रदेशभित्र ५ लाख पर्यटक भित्र्याउने पनि उल्लेख गरेको छ । यस्तै सरकारले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकामा खेल मैदान तथा रंगशाला निर्माणका लागि स्थानीय सरकारसँग समन्वय गरिने पनि उल्लेख गरेको छ ।

‘सबैभन्दा वेश, १ नम्बर प्रदेश’, ‘एक समूह, एक उत्पादन’, ‘उत्पादन गरौं, प्रदेश समृद्ध बनाऔं’, ‘जस्ता माटो, उस्तो बाली’, ‘बचत गरौं, समृद्ध बनौं’, ‘एक नम्बर प्रदेशको शान, सवैको अनुहारमा मुस्कान’ ‘हाम्रो गौरव हामै शान, सगरमाथा र केचनाले प्रदेशकै राख्छ उच्च मान’ जस्ता नारा दिइएको कार्यक्रम अघि सारिएको छ । स्वस्थ नागरिक, स्वस्थ प्रदेश, ‘संघीय गणतन्त्र नेपालको उपहार : एक परिवार एक रोजगार’ लगायतका नारालाई चुनौती तथा कार्यक्रममा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्