२८ जेठ २०७५, काठमाडौं
बूनपा १२ को सहयोगमा कपन स्पोर्ट्स क्लब (कास्पोक)द्वारा आयोजित विद्यालय स्तरीय खेलकुद प्रतियोगिता ह्याण्डबल मैदान कपनमा सम्पन्न भएको छ । प्रतियोगितामा फुटबल, रिले दौड, चेस, टग अफ वार, वादविवाद लगायतका खेलहरु खेलाईएको थियो ।
सेभेन ए साइड फुटबलमा पायोनियर स्कूलले ज्ञान प्रकाश स्कुललाई १–० गोलले हराउदै विजेता बन्न सफल भयो । त्यसैगरी रिले दौडमा प्रशान्ति शिक्षा सदन प्रथम र पायोनियर स्कुल दोश्रो भएको थियो । वादविवाद प्रतियोगितामा पायोनियर स्कुलकी स्नेहा दाहाल प्रथम, त्रिज्योति स्कुलका निशान्त केसी दोस्रो र पुष्पलाल स्कुलकी यसस्वी भण्डारीले तेस्रो स्थान हासिल गरेका थिए ।
चेस तर्फ पायोनियर स्कुलका अनिल लामा प्रथम, घटराज स्कुलका संयम चौलागाई दोस्रो भए भने महिला तर्फ प्रथम र दोस्रोमा पायोनियर स्कुलका सुप्रिया र स्नेहा बुढाथोकी विजयी भएका थिए ।
चार सय मिटर दौडमा त्रिज्योति स्कुलका संजोग प्रथम, प्रशान्ति शिक्षा सदनका सुजन दियाल दोश्रो र पायोनियर स्कुलका विकास खड्काले तेस्रो स्थान हासिल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत टग अफ वार पुरुषतर्फ पुष्पलाल स्कुल प्रथम, मञ्जु श्री स्कुल दोस्रो र महिलातर्फ प्रथम र दोस्रो दुवै पुरस्कार प्रशान्ति शिक्षा सदनले हात पारेको थियो ।
डा. राजन भट्टराईको प्रमुख आतिथ्यता, अतिथिहरु बूनपा ११ का वडाध्यक्ष राजु अधिकारी, १२ का वडाध्यक्ष शम्भु भट्टराई, नगर कार्यपालिका सदस्यहरु सुमित्रा पाण्डे, शान्ता ढकाल, नगरपालिकाका लेखा समिति संयोजक पुरुषोत्तम नेपाल, जिल्ला खेलकुद समिति काठमाडौका अध्यक्ष धु्रवराज न्यौपाने, उपाध्यक्ष बद्री भट्टराई, कपन क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कुमार ओझा, नेकपाका नेताहरु सुन्दर पुर्कुटी, हरिराम ढुंगाना, नेपाल तरुण दल नगर सभापति राजु बिक्रम थापा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा विद्यालयका प्रधानाध्यापक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमको संचालन राम शरण सापकोटाले गरेका थिए भने अध्यक्षता कपन स्पोर्ट्स क्लव (कास्पोक)का अध्यक्ष अजय कुइँकेलले गरेका थिए ।