अमेरिकी राष्ट्रपति र सिङ्गापुरका प्रधानमन्त्रीबीच भेटवार्ता



२८ जेठ २०७५, सिङ्गापुर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लोङबीच सोमबार भेटवार्ता गरेका छन् ।

उनीहरुबीच सोमबार बिहान सिङ्गापुरका राष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार नै सिङ्गपुर पुगेका छन् ।

मंगलबार बिहान उनीहरुबीच बहुप्रतिक्षित शिखर वार्ता हुनलागेको छ । सो भेटवार्ता यहाँको स्थानीय समयानुसार बिहान ९ बजे हुने कार्यक्रम रहेको छ ।

विश्वकै लागि सर्वाधिक चासोका रुपमा रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार नै यी दुबै नेता सिङ्गापुर पुगेको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति र सिङ्गापुरका प्रधानमन्त्रीबीच सोमबार भएको यस वार्तामा पनि मंगलबार शुरु हुन लागेको उक्त शिखर वार्ताकै बारेमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्