०१ असार २०७५, काठमाडौं
विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरबलाई ५-० गोल अन्तरले पराजित गरेको छ ।
विहिबार भएको २१ औंं विश्वकप फुटबलको पहिलो खेलको जितमा डेनिस चेरीशेभ दुई गोल गरे भने युरी गाजिन्सकी, अर्टेम डिज्यूबा र एलेक्सन्डर गोलोभिनले एक एक गोल गरेका थिए ।
खेलको १२औं मिनेटमा युरी गाजिन्सकीले गोल गर्दै रसियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको २४औं मिनेटमा सब्सटिच्युटको रुपमा आएका डेनिस चेरीशेभले खेलको ४३औं मिनेटमा गोल गर्दै रसियाको अग्रतालाई दोब्बर पारेका थिए पहिलो हाफमा २-० को अग्रता लिएको रसियाले दोस्रो हाफमा दुई गोल थपेको थियो । खेलको ७१औं मिनेटमा अर्टेम डिज्यूबाले गोल गर्दै रसियाको अग्रतालाई ३-० बनाएका थिए ।
रसियाले ९० मिनेट पछि दुई गोल गरेको थियो । खेलको ९१औं मिनेटमा रसियाका लागि डेनिस चेरीशेभ व्यक्तिगत दोस्रो र रसियाका लागि चौथो गोल गरेका थिए भने ९४औं मिनेटमा २२ बर्षिय युवा खेलाडी एलेक्सन्डर गोलोभिनले गोल गर्दै रसियालाई ५-० को जित दिलाएका थिए ।
अब रसियाले आफ्नो दोस्रो खेल आगामी जुन १९ मा इजिप्टसँग खेल्ने छ भने साउदी अरबले आफ्नो दोस्रो खेल जुन २० मा उरुग्वेसँग खेल्ने छ ।