०३ असार २०७५,काठमाडौँ
यतिबेला नेपाली काँग्रेसभित्र संस्थापन पक्ष अलोकप्रिय हुँदै गइरहेको छ । जसको फाइदा उठाउन काँग्रेसमा कोइराला परिवारको सक्रियता विस्तारै बढेको छ।
कुनै समय एक छत्र राज चलाएका कोइराला परिवार सक्रिय हुनुलाई अर्थपूर्ण रुपबाट हेरिएको छ । कोइराला परिवारका तीन हस्तीहरु महामन्त्री डा. शशांक कोइराला, केन्द्रिय सदस्यहरु शेखर कोइराला र केन्द्रिय सदस्य सुजाता कोइरालाले भेटघाटलाई बाक्लो बनाएका छन्।
काँग्रेस महामन्त्री शशांकको टोखास्थित घरमा शनिबार मात्र कोइराला निकट काँग्रेसी नेताहरुको बाक्लो जमघट भएको छ । उक्त जमघटमा काँग्रेसका प्रभावशाली नेताहरुको उपस्तिथि थियो । केन्द्रिय सदस्य डा. शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु, दीपक गिरी, गुरुराज घिमिरे, सरिता प्रसार्इं लगायतका नेताको उपस्थित थियो।
काँग्रेसभित्रको राजनीतिक अवस्था, संसदमा काँग्रेसको भूमिका, पछिल्ला दिनमा सरकारका लोकतन्त्र विरोधी क्रियाकलाप लगायतका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । यसपटकको भेटमा काँग्रेस केन्द्रिय सदस्य सुजाता कोइराला कारणवश उपस्थित थिइनन् । तर उनी यो अभियानमा सहभागी छिन् । महामन्त्री कोइराला निकट स्रोतले उक्त भेटलार्इ पारिवारिक भेट भएको बताएको छ ।
कोइराला परिवारका नेताहरूबीच गत बर्षको साउनयता भएको यो चौथो जमघट हो । गत वर्ष साउन, भदौ र माघमा शशांक, शेखर र सुजाता कोइरालाले यस्तै भेटघाट गरिसकेका छन्। जुन भेटलाई काँग्रेसजनले आगामी महाधिवेशनमा काँग्रेसमा कोइराला परिवारको नेतृत्व स्थापित गर्ने प्रयत्नका रूपमा अर्थ्याउँदै आएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलासमेत पछिल्लो समया कोइराला क्याम्पसँग नजिक छन्। देउवासँग असन्तुष्ट पौडेल, प्रकाशमान सिंह र सिटौलालगायतलाई गोलबद्ध गरेर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने रणनीतिमा कोइराला क्याम्प यतिबेला सक्रिय देखिएको छ।
भर्खरै सम्पन्न काँग्रेस निकट नेपाल ट्रेड युनियनको चुनावमा पनि संस्थापन पक्षले नराम्रोसँग हार बेहोर्नुपरेको छ। संस्थापन पक्ष यस अघि कर्मचारी, इन्जियनियर, शिक्षकसँग सम्बद्ध संस्थाको नेतृत्व छान्ने चुनावमा पनि पराजित भएको थियो ।
संस्थापन अर्थात देउवा पक्ष कमजोर हुँदै गएको अवस्थामा निरन्तर रुपमा अगाडि बढ्दै गएको कोइराला क्याम्पको सक्रियतालाई नेपाली राजनितीमा अर्थपूर्ण रुपमा हेरिएको छ।