०४ असार २०७५, काठमाडौं
विश्वकपको आइसल्याण्डसँगको पहिलो खेलमा लियोनल मेस्सीले पेनाल्टी मिस गर्दा अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाले मेस्सीको बचाउ गरेका छन् ।
पहिलो पटक बिश्वकप खेलेको आइसल्याण्डसँग अर्जेन्टिनाको खेल स्पार्टक रंगशालाबाट हेरिरहेका उनी पेनाल्टीमा गोल नगर्नु सामान्य भएकोे बताए । ‘मैले स्पेनमा पाँचपटक पेनाल्टी मिस गरेको छु र पनि अहिलेसम्म म डिएगो अर्मान्डो म्याराडोना नै छु’ उनले भनेका छन्, ‘मेस्सीले पेनाल्टीमा गोल गर्न नसकेकै कारण अर्जेन्टिनाले दुई अंक गुमायो भन्ने मलाई लाग्दैन ।’
म्याराडोनाले भने अर्जेन्टिनाको कमजोर प्रदर्शनमा खेलाडीलाई दोष नदिई प्रशिक्षक जर्ज साम्पाओलीलाई दोषी देखाएका छन् । आगामी खेलमा आइसल्याण्डसँग जस्तो गल्ती नगर्न पनि सुझाव दिएका छन् । ‘यस्तै खेलले साम्पाओली अर्जेन्टिना र्फकन सक्दैनन् । आगामी खेलमा उनले सुधार गरुन्’
आइसल्याण्डसँग १–१ को बराबरीमा खेल भैरहदा मेसीले उक्त पेनाल्टी पाएका थिए । अर्जेन्टिनाको लागि २–१ बनाउने सुनौलो अवसर थियो तर त्यो अवसर अर्जेन्टिनाले गुमाएको थियो । मेसीले पाएको पेनाल्टीमा आइसल्याण्डका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए ।
म्याराडोनाले भने, ‘म खेलाडीलाई दोष लगाउँदिन । स्तरमा केही कमजोरी भयो । तर खेलाडीलाई दोष दिने ठाउँ छैन । मेस्सीको कुरा गर्दा उनले आफूसँग भएको सबै कुरा त्यो खेलमा दिएका थिए ।’
आइसल्याण्डसँगको बराबरी अर्जेन्टिनी टिमका लागि लाज र अपमानको कुरा भने नभएको उनको भनाइ छ । तर, आइसल्याण्डका सबै खेलाडी १.९० मिटर अग्ला छन् भन्ने थाहा हुँदाहुँदै पनि त्यस अनुसार तयारी नगर्नु प्रशिक्षकको कमजोरी भएको उनले बताएका छन् ।