०६ असार २०७५, काठमाडौं
पूर्वी नेपालबाट २५ जेठमा प्रवेश गरेको मनसुन देशैभर अझै सक्रिय हुन सकेको छैन ।
कमजोर रूपमा मनसुन नेपाल प्रवेश गरेका कारण सक्रिय हुन ढिलाइ भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् वरुण पौडेलका अनुसार बंगालको खाडीबाट कमजोर रूपमा जलवाष्पयुक्त हावा प्रवेश गरेकाले मनसुनमा ढिलाइ भएको हो । ११ दिन बितिसक्दा पनि मनसुन पूर्वी नेपालमै केन्द्रित छ ।
अझै पश्चिम नेपालमा पश्चिमी वायुको प्रभाव रहेको पौडेलले बताए । बुधबार उपत्यकासहित पूर्वी नेपालका धेरैजसो क्षेत्रमा वर्षा हुने पौडेलले बताए ।