०६ असार २०७५
विश्वकप २०१८ मा अर्काे खेलको तयारीमा रहेको ब्राजिलका फर्वाड स्ट्राईकर नेइमारको मंगलबार अभ्यास खेल खेल्ने क्रममा पुरानै चोट बल्झिएको छ । चोट बल्झिएपछि नेइमार फिजियोथेरापिस्टकोमा उपचारका लागि गएका छन् ।
विश्वकपको पहिलो खेलमा स्वीजरल्याण्डसँग १–१ को बराबरीमा रोकिदा नेइमार त्यती शाररीकरुपमा बलिया देखिएका थिएनन् । ९० मिनेटको पुरै खेल खेल्दा उनी मैदानमा १० पटक लडेका थिए ।
पेरिस सेन्ट जर्मनबाट खेल्ने क्रममा चोट लागेपछि उनको दायाँ खुट्टाको शल्यक्रिया गरिएको थियो । सिजनको अन्तिम खेलहरु गुमाएका उनी विश्वकप अघि मैदान फर्किएका थिए ।
२०१४ को विश्वकपको क्वार्टरफाइनलमा कोलम्बियाका जुवान जुनिगाले फउल गरेपछि नेइमारले सेमिफाइनल खेल गुमाएका थिए । नेइमारविना उत्रिएको ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ ले स्तब्ध भएको थियो ।
ब्राजिलियन टिमलाई यो वर्षको उपाधिको प्रमुख दावेदारका रुपमा हेरिएको छ । तर, पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिनु र स्टार स्ट्राइकर नेइमारको चोटले भने ब्राजिलियन टिममाथि केही दबाव थपिएको छ ।