०६ असार २०७५, काठमाडौं
विश्वकपमा समुह चरणको पहिलो खेलमा स्पेनलाई ३–३ को बराबरीमा रोकेको पोर्चुगल आज हुने खेलमा उच्च मनोबलका साथ मोरेक्को विरुद्ध मैदानमा उत्रनेछन् । इरानसँग १–० ले पछि परेको मोरक्को बुधबार बेलुका ५ः४५ मा हुने खेलमा क्वाटर फाइनलको सम्भावना जिवितै राख्न पोर्चुगेली फरवार्ड स्टार क्रिष्टियानो रोनाल्डोलाई रोक्नु पर्ने दवाव छ ।
रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलका सबै खेलाडी फिट छन् भने मोरक्कोका केही खेलाडी चोटका कारण मैदान नउत्रने निश्चित छ । इरानसँग हारेर कमजोर मनोबल भएको मोरक्कोले अघिल्लो चरणमा जाने सम्भावना बचाउन त्यति सजिलो भने हुने छैन । मोरक्कोका फरवार्ड नोर्दिन अमराबत इनसँगको खेलमा टाउको ठोक्किएर घाइते भएका कारण आज मैदानमा उत्रने छैनन् भने अर्का नियमित राइट–ब्याक डिफेन्डर नबिल डियर पनि घुँडाको चोटका कारण खेल्न नसक्ने अवस्थामा छन् ।
मोरक्को सन १९९८ पछि यो वर्षको विश्वकपमा फर्किएको हो । पाँचौ पटक विश्वकप खेलिरहेको मोरक्को पहिलो खेलमा राम्रो खेल्दाखेल्दै पनि आत्मघाती गोलका कारण तुलनात्मक रुपमा कमजोर प्रस्तुत भैरहेको इरानसँग पराजित हुन पुग्यो ।
पोर्चुगल सन २००२ पछि युरोपियन बाहेकका देशसँग विश्वकपमा पराजित भएको छैन । त्यसपछिका ८ खेलमा ५ जित र ३ बराबरी भएको छ । त्यसबेला पोर्चुगल दक्षिण कोरियासँग हारेको थियो ।
चौथो पटक विश्वकप खेलिरहेका रोनाल्डो अघिल्ला तीन विश्वकपमा त्यति लयमा देखिएका थिएनन् । उनले तीन विश्वकप खेल्दा जम्मा ३ गोल गरेका थिए । स्पेनविरुद्ध ह्याट्रिक गरेर उत्कृष्ट लयमा रहेका रोनाल्डो मोरक्कोका लागि प्रमुख चुनौती हुनेछन् ।