०७ असार २०७५, बेइजिङ
प्रधानमन्त्री केपी शर्मा ओलीले आज चाइना कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गरेका थिए ।
सिपिसीको पार्टी स्कुलले आयोजना गर्ने छलफलमा सहभागी हुनुपूर्व प्रधानमन्त्री ओलीले उक्त संग्रहालयको अवलोकन गरेका हुन् । संग्रहालयमा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास भल्काउने विविध सूचनासहितको सामग्री राखिएका छन् ।
अवलोकनका क्रममा उनकी धर्मपत्नी राधिका शाक्यसहित भ्रमणदलमा सहभागी मन्त्रीहरु, सांसद र सरकारी उच्च अधिकारीको सहभागिता थियो । यस संग्रहालयमा कम्युनिष्ट नेताले आफ्ना कार्यकर्तालाई कसरी अनुशासित गर्ने तथा पार्टीका बारेमा कसरी प्रशिक्षित गर्ने भन्ने कुरा झल्काइएको छ ।
पार्टीको संगठनका विषयमा कुन विषय सही र कुन गलत हो भन्ने विषयबारे जानकारी गराइनेबारे तस्बीर तथा यहाँ संग्रहित वस्तुले जानकारी दिन्छ ।
माओका विचारलाई अगाडि बढाउने र चिनियाँ विचार तथा शैलीसहितको समाजवादको विकास कसरी गर्ने भन्ने विषयमा पनि यस संग्रहालयले जानकारी दिन्छ । प्रधानमन्त्री ओलीले पार्टी स्कुल विभागको आयोजनामा विकास र समृद्धिमा राजनीतिक दलको भूमिका विषयमा प्रवचन दिँदै छन् भने आजै चीनका प्रधानमन्त्रीसँग भेटवार्ता पनि गर्दै छन् ।