छोरीको लगाव आमाको समर्पण



०८ असार २०७५, काठमाडौं

आमाले सन्तानलाई माया गर्नु प्राकृतिक नियम हो। हरेक आमामा मातृवात्सल्य गुण हुन्छ नै। सन्तानको शिक्षाका लागि त्याग गर्ने आमा भने विरलै हुन्छन्।

यस्तै आमा हुन् भक्तपुर लिवालीकी मैया भोयद्यु। छोरीको शिक्षाप्रति उनको समर्पण सबैका लागि प्रेरणाको स्रोत बनेको छ। शारीरिक रूपमा अशक्त छोरीलाई मैयाले नर्सरीदेखि अहिले स्नातक तहसम्म डो-याएर शिक्षालय पु-याउँदै आएकी छन्। सुलोचना अहिले स्नातक पहिलो वर्षमा अध्ययरत छिन्।

सुलोचना भोयद्युलाई उनकी आमा मैयाले हात समाएर विद्यालय लैजान थालेको अढाई दशकभन्दा बढी भइसकेको छ। ५२ वर्षीया मैयाले २८ वर्षीया सुलोचनालाई नर्सरीदेखि बीए प्रथम वर्षमा पुग्दासम्मा डो¥याएरै घर र शिक्षालयसम्म पु-याउँदै आएकी छन्। उनी छोरीको पढाइ नसकिएसम्म यो यात्रालाई निरन्तरता दिने बताउँछिन्।

‘कतिले त यस्ती शारीरिक रुपमा अशक्त छोरीलाई पढाएर के हुन्छ भनेर भन्ने गरेका छन्,’ मैयाले भनिन्, ‘मैले त यस्तै छोरीलाई पढाइ धेरै जरुरी छ भन्ने जबाफ दिने गरेकी छु।’

छोरीको पढाइप्रतिको लगाव र इच्छा तथा आफ्नो माया र समर्पणको तालमेलले अहिलेसम्मको यात्रा सहज भएको मैयाले बताइन्।

‘मैले छोरीलाई होइनन् छोरीको मायाले मलाई डो-याएको हो,’ उनले भनिन्, ‘सुलोचनालाई विद्यालय लैजाँदा–ल्याउँदा मलाई खुसी लाग्छ।’ छोरीको उपचारका लागि धेरै प्रयास गरे पनि सम्भव नभएपछि जसरी पनि शिक्षा दिलाउने सोच पलाएको उनले सुनाइन्।

प्रतिक्रिया दिनुहोस्