०७ असार २०७५, काठमाडौं
रसियामा विश्वकप २०१८ को पहिलो खेल खेलेका ब्राजिलियन फरवार्ड नेइमारको पुरानो चोट बल्झिएपछि अभ्यास खेल खेल्न सकेका थिएनन् । फिजियोथेरापी पश्चात कोस्टारिका विरुद्धको खेलमा उनी फिट देखिएका छन् ।
विश्वकपको पहिलो खेलमा स्वीजरल्याण्डसँग १–१ को बराबरीमा रोकिदा नेइमार मैदानमा त्यती सहज देखिएका थिएनन् । ९० मिनेटको पुरै खेल खेलेका उनी मैदानमा १० पटक लडेका थिए ।
पेरिस सेन्ट जर्मनबाट खेल खेल्ने क्रममा चोट लागेपछि उनको दायाँ खुट्टाको शल्यक्रिया गरिएको थियो । सिजनको अन्तिम खेलहरु गुमाएका उनी विश्वकप अघि मैदान फर्केका थिए ।
विश्वकप उपाधिको प्रमुख दाबेदार मानिएको ब्राजिलले आज साझ नेपाली समयानुसार ५ : ४५ मा कोस्टारिका विरुद्ध खेल खेल्नेछ ।