गोल्डेन बुटको दावेदारीमा रोनाल्डो र लुकाकुलाई पछि पारे इङल्याण्डका ह्यारी केनले



११ असार २०७५, काठमाडौं

रसियामा जारी विश्वकप फुटबलमा आइतबार पानामाविरुद्धको खेलमा ह्याट्रिक पुरा गरी आफ्नो गोल संख्या ५ बनाई इङल्याण्डका ह्यारी केनले लुकाकु र रोनाल्डोलाई चुनौती दिएका छन् । यो खेलभन्दा अघि गोल्डेन बुटको दाबेदारीमा बेल्जियमका रोमेलु लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो रहेका थिए ।

गोल्डेन बुटको दौडमा शनिबार ट्युनिसियाविरुद्धको खेलमा २ गोल गरेर लुकाकुले २ खेलमा ४ गोल गर्दै रोनाल्डोसँग बराबरी गरेका थिए । लुकाकुले पहिलो खेलमा पानामाविरुद्ध पनि २ गोल नै गरेका थिए । स्पेनविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले मोरक्कोसँगको खेलमा एक गोल गर्दै कुल ४ गोल गरेका थिए ।

अब गोल्डेन बुटको दौडमा ह्यारी केन ५ गोल सहित अगाडी रहेका छन् भने रोनाल्डो, लुकाकु ४–४ गोल सहित दोस्रो स्थानमा छन् । त्यस्तै यस दौडमा रसियाका डेनिस चेरीशेभ र स्पेनका डिएगो कोष्टा ३–३ गोल गर्दै गोल्डेन बुटको दौडमा तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्