१२ असार २०७५, काठमाडौं
हिजो सोमबार साँझ समूह वि का दुई राष्ट्र स्पेन र मोरक्कोले बराबरी खेलेका छन् । निर्धारित समयमा दुबै टिमले १/१ गोल गरेपछि १/१ अंक बाँडेका हुन् ।
समूह चरणको पहिलो खेलमा पोर्चुगलसँग बराबरी खेल्दै १/१ अंक बाँडेको स्पेनले समुह चरणको दोस्रो खेलमा इरानलाई १ गोल गर्दै हराएको थियो । एक खेलमा बराबरी र अर्को खेलमा जित हासिल गरेसंगै स्पेनको ४ अंक भएको थियो । आज मोरक्कोसंग बराबरी खेलेर १/१ अंक बाडेको स्पेनले जम्मा ५ अंक बनाउदै अन्तिम १६ मा प्रवेश गरेको छ।
मोरक्कोका मिडफिल्डर बौटैबले १४ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिएका थिए तर १९ मिनेटमा स्पेनका फरवार्ड इस्कोले पहिलो गोल गर्दै बराबरी बनाएका थिए ।
पहिलो हाफमा दुबै टिम बराबरीको स्थितिमा रहेको थियो तर दोस्रो हाफको ८१ मिनेटमा मोरक्कोको फरवार्ड इन-नेसरीले दोस्रो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ९०+१ मिनेटमा स्पेनका फरवार्ड अस्पसले गोल गर्दै पुन बराबरी बनाए ।
समूह वि बाट अन्तिम खेलमा बराबरी खेलेसँगै ५ अंक बनाएर स्पेन प्री क्वाटर फाइनलमा प्रवेश गरेको छ भने आजै भएको अर्को खेलमा इरानसँग बराबरी खेल्दै ५ अंक बनाएर पोर्चुगल पनि प्री क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
समूह चरणको ३ खेलमा ५/५ अंक बनाएको पोर्चुगल र स्पेन मध्ये गोल सङ्ख्याको आधारमा स्पेन समूह विजेता बनेको छ भने पोर्चुगल उपविजेता भएको छ । प्री क्वाटर फाइनल चरणमा स्पेनको भेट समूह ए को उपविजेता रसियासँग हुनेछ भने पोर्चुगलको भेट समूह ए को विजेता उरुग्वेसँग हुनेछ ।