नेइमार लड्दा रक्सी सितैमा पाउने



१५ असार २०७५, काठमाण्डौँ

विश्वका सबैभन्दा महंगा फुटबलर ब्राजिलियन स्टार नेइमारले जारी विश्वकपमा अपेक्षा अनुरुपको प्रदर्शन गर्न सकिरहेका छैनन् । आवश्यकता भन्दा बढी लडिरहेको अर्थात् डाइभ हानिरहेको भनी उनको आलोचना भइरहेको बेला ब्राजिलको एउटा बारले भने अनौठो घोषणा गरेको छ ।
नेमारको लडिबुडी मजाक बनिरहेको बेला रियो दि जेनेरियोमा रहेको बारले बुधबार हुने सर्बिया र ब्राजिलबीचको निकै महत्वपूर्ण खेलका दौरान हरेकपटक नेमार मैदानमा लड्दा फुटबल फ्यानलाई सित्तैमा रक्सी पिलाउने घोषणा गरेको हो । यद्यपि, नेइमारको प्रदर्शनमै ब्राजिलको विश्वकप सपना अडेको छ ।
उत्तरी रियोको सर वाल्टर पबले आफ्नो फेसबुकमा यस्तो घोषणा गरेको हो । उसले लेखेको छ, ‘नेमार जब मैदानमा लड्नेछन् तब बारमा सबैलाई निःशुल्क एक प्याला शट (रक्सी) मिल्नेछ ।’
सोसल मिडियामा यो पोष्ट निकै भाइरल बनिरहेको छ । नेमारका फ्यानहरुले यसको खुबै तारिफ गरिरहेका छन् ।
विश्वकप फुटबल सुरु हुनुअघि क्रेडिट कार्ड कम्पनी मास्टरकार्डले लियोनेल मेस्सी र नेमारले जति पटक गोल गर्छन् उति नै पटक गरीबहरुलाई सित्तैमा भोज खुवाउने घोषणा गरेको थियो ।
उक्त घोषणा अनुसार मेस्सी र नेमारको हरेक गोलको बदलामा मास्टरकार्डले संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम मार्फत १० हजार जनालाई पुग्ने खाद्यान्न प्रदान गर्ने बताइएको थियो । तर पछि ब्राजिली प्रशिक्षकको विरोधपछि उक्त योजना रद्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्